गुरु योजनामा समेटिएन शिवलिङ्ग
इन्द्रकुमार राई
अर्जुनधारा । पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाममा मोक्षेश्वर शिवलिङ्ग निर्माण गर्न ढिलाई भइरहेको छ । भौतिक संरचनाहरु निर्माण गर्नका लागि धामको पर्याप्त जमिन नभएकोले शिवलिङ्ग निर्माण गर्न ढिलाइ भएको हो ।
धामका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाले मोक्षेश्वर शिवलिङ्ग निर्माण कार्य दीर्घकालीन गुरु योजना भएकोले अहिले धाम समितिको ध्यान जग्गा विस्तारमा केन्द्रित भएको जानकारी दिए । खतिवडाले धामको दक्षिण सिमानामा १ करोड रुपैयाँ बढी मुल्य पर्ने १० कठ्ठा जग्गा खरिदका लागि ५० लाख रुपैयाँ बैनाबट्टा गरिसकेका छ । तर जग्गा पास गर्न धामलाई समस्या परेको खतिवडाको भनाई छ । उनले शिवलिङ्ग कहिलेसम्ममा निर्माण कार्य शुरु गरिने भन्ने बारे खुलाएनन् । धामको आर्थिक उन्नति हुनुका साथै धामलाई विश्वमा पहिचान गराउन अग्लो र ठुलो शिवलिङ्ग छिट्टै निर्माण गरिनुपर्छ भन्ने बुद्धिजीवी , सामाजिक एवम् धार्मिक व्यक्तित्वहरुको आवाज छ । एक स्थानीय भक्तजनले शिवलिङ्ग बनाउन धामले चासो नदेखाएको आरोप लगाउँदै शिवलिङ्ग गुरु योजनाको नक्सामा सार्वजनिक नगरिएको गुनासो गरे ।

शिवलिङ्गका प्रस्तावक इन्दिवरसिंह खड्काले १० बर्ष सम्ममा पनि शिवलिङ्ग बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । धाम कार्य समितिले मुख्य शिवलिङ्ग निर्माण गर्न कार्य योजना बनाउन उनको सुझाव छ । उनले भने,– ‘यदि समितिलाई शिवलिङ्ग निर्माण गर्ने काम बोझ भए निर्माण गर्ने जिम्मेवारी हामीलाई दिए हुन्छ । हामी जिम्मेवारी लिन तयार छौ ।’ त्यस्तै अर्का प्रस्तावक बसन्त सोमानीले शिवलिङ्ग बनाउन अलमल नगरी निर्माण कार्य चाँडैअघि बढाउन धाम समितिको ध्यानाकर्षण गराएका छन् ।
सोमानीले शिवलिङ्ग निर्माण कार्य थालनी गरे आर्थिक सहयोग गर्ने दाताहरूको कमि नहुने बताए । शिवलिङ्ग बन्न सके धामको दैनिक १ लाख रुपैयाँ भन्दाबढी आम्दानी हुने विश्वास समेत प्रकट गरे । सो संरचना १५१ फिट उचाई ,१०० वर्ग फिट गोलाई , ६४ वर्ग फिट अर्ध गोलाई र ५१ फिट अर्ध गोलाईको उचाई रहने शिवलिङ्गका डिजाइनर रवि झोंसेले जानकारी दिए । शिवलिङ्ग निर्माणका लागि १० कठ्ठा बढी जमिन आवश्यक पर्ने उनको भनाई छ ।
वि.सं. ०६८ सालमा भूगर्वविद् कार्यालयका प्राविधिकबाट माटो परीक्षण गराउँदा शिवलिङ्ग थाम्ने जमिनको क्षमता भएपछि धामका व्यासाचार्य पुष्पलाल निरौलाको संयोजकत्वमा ५१ सदस्यीय मोक्षेश्वर शिवलिङ्ग शिलान्यास समिति गठन गरि महाशिवरात्री पर्वका दिन विधिवत रुपमा शिवलिङ्गको शिलान्यास गरिएको थियो । त्यसअघि गणेश भगवानको पूजा गर्दै सवा मनको एउटै सिंगो लड्डु र सवा करोड दुबो भगवानलाई चढाइएको थियो । शिवलिङ्गको शिलान्यास संयोजक निरौलाले गरेका थिए । केही समयपछि जलेश्वरधाममा जगत गुरु शंकाराचार्य र कमलनयाचार्यको आगमन हुँदा जगत गुरु र कमलनयाचार्यले शिवलिङ्ग त्रिशूल संरक्षण थानमा पूजा आराधना गरेका थिए ।
उक्त थान मुल मन्दिर देखि पूर्व –दक्षिण करिब १७० मिटर दुरीमा पर्दछ । वि.सं. २०७४ सालमा स्थानीय दाता मेदनीप्रसाद ढुंगेलबाट २ लाख ८२ हजार रुपैयाँ निजी लगानीमा व्यवस्थित शिवलिङ्ग त्रिशुल थान निर्माण गरिएको छ । त्यसअघि थानलाई बाँसको टाटी बेरा गरिएको थियो ।







प्रतिक्रिया