बिर्तामोड । झापा बिर्तामोड नगरपालिका– ५ ले वडालाई खेलकुदमय बनाउन यसवर्ष पनि विभिन्न प्रतियोगिता गर्ने भएको छ । वडाको युवा तथा खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगितामा विभिन्न आठ वटा खेल सहभागी गराइएको छ ।
पुस २४ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने समितिका सचिव विशाल अग्रवालले जनाएका छन् । स्थानीय देवी मावि लगायत स्थानमा सञ्चालन हुने प्रतियोगितालाई बृहत खेल प्रतियोगिताको रुपमा लिइएको आयोजकले जनाएको छ । उनका अनुसार एउटा रणनीतिक कार्ययोजना अन्तर्गत सुपर ३० कार्यक्रम गरिनेछ । प्रतियोगिताका विजेता टिमले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । तर, रकम उल्लेख गरिएको छैन ।
उद्घाटनको दिन पुस २४ गते आत्मरक्षा तालिमको सुरुवात गरिने भएको छ । त्यस्तै, माघ ८ गते महिला तथा पुरुष भलिबल, माघ १५ गते वडास्तरीय सुपर सिक्स क्रिकेट, माघ २९ गते वडास्तरीय फुटसल, फागुन २१ गते वडास्तरीय यु १९ फुटबल प्रतियोगिता हुने तालिका छ । यसैगरी, फागुन २४ गते शारीरिक सुगठन, फागुन २८ गते सुपर ३० कार्यक्रम र चैत ३ गते महिला तथा पुरुष ३ गुणा ३ बास्केट बल प्रतियोगिता आयोजना हुने समितिका सचिव अग्रवालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया