बिर्तामोड । झापाको बिर्तामोडमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । बिर्तामोड –४ स्थित राजेश मण्डलको घरमा रहेको गोदममा आगलागी भएको थियो । सुवास घोषले गोदाम भाडामा लिएर विजुलीजन्य सामग्रीहरु राखेका थिए ।
आज बिहान ११ बजेदेखि सुरु भएको आगो साढे ४ बजे मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिए । आगो नियन्त्रणमा लिन धेरै समय लागेको उनको भनाई छ । विजुलीजन्य सामग्राी रहेको गोदाममा आगो नियन्त्रणमा लागि झापाका ७ वटा पालिकाका दमकल परिचालन गरिएको थियो । आगलागीबाट गोदाममा रहेका सामान, भुईतलामा रहेको औषध पसलका औषधिहरु जलेर नष्ट भएको छ ।

जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी आगो नियन्त्रणमा लागि खटिएका थिए । हिजो मात्रै गोदाममा २ ट्रक विजुलीका सामान झारिएको थियो । हिजोका झारिएको सामानले गोदामसँगै अन्य ठाउँमा समेत हिडडुल गर्न गाह्रो भएपछि आगो नियन्त्रण गर्न कठिनाई भएको थियो ।
बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माका अनुसार आगो नियन्त्रणका लागि झापाको बिर्तामोड, भद्रपुर, मेचीनगर, शिवसताक्षी, कमल, दमक र गौरादहको दमकल परिचालन गरिएको थियो ।
बिर्तामोडमा एक महिनाअघि भद्रपुर रोडमा रहेको फर्निचर पसलमा आगलागी भएको थियो । विधुत सर्ट भई यस क्षेत्रमा निरन्तर आगलागीको घटना भइरहेको छ । आगलागी नियन्त्रणका लागि दमकल आउन जान बाटो साँगुरो हुँदा समेत समस्या हुने गरेको छ ।
आगलागी के कति कारणबाट लागेको हो ? र, कति क्षति भयो भन्ने बारे पूर्ण विवरण आएको छैन ।







प्रतिक्रिया