Banner news

बुट्टाबारी – प्याकुरेल चोक सडक खण्डको औपचारिक उद्घाटन, ४७ वर्षअघि खनिएको थियो बाटो

बुट्टाबारी – प्याकुरेल चोक सडक खण्डको औपचारिक उद्घाटन, ४७ वर्षअघि खनिएको थियो बाटो


बिर्तामोड । विश्व बैंकको लगानीमा निर्मित बुट्टाबारी – प्याकुरेल चोक सडक खण्डको उद्घाटन गरिएको छ । बुधबार ६.२५ किलोमिटर सडकको कोशी प्रदेशका सांसद एकराज कार्की, बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईले उद्घाटन गरेका हुन् ।

२०३६ सालमा खनिएको बाटोमा ४७ वर्षपछि विश्वबैंकको लगानीबाट अन्तराष्ट्रियस्तरको सडक निर्माण सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका तीन वटा वडा ६, ७ र ८ जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडकको औपचारिक उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद कार्कीले धेरै बाधाअवरोधबाट सडक निर्माण सम्पन्न भएको बताए । बाटोको आवश्यकता महसुस गरेर आफ्नै नेतृत्वमा ०३६ सालमा खनिएको बाटो सुविधासम्पन्न कालोपत्रे बनेपछि उद्घाटन गर्न पाउँदा गौरवअनुभति भएको बताए ।

उनले सडक पूर्वाधार विकासले स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिलाई गति दिने बताएका छन् । सडकको निर्माणसँगै यसको दीर्घकालीन संरक्षण र प्रभावकारी उपयोगमा पनि ध्यान दिनुपर्नेमा उनको जोड थियो । पूर्वाधार विकासमा मुलुकले धेरै फड्को मारेको सांसद कार्कीको भनाई छ । उनले केही भएन भन्ने भाष्य खारेजयोग्य रहेको धारणा व्यक्त गरे ।

विश्व बैंक र नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक २०८० वैशाख २९ गतेदेखि निर्माण शुरु गरिएको थियो । कुल ५८ करोड ८३ लाख ५९ हजार ५ सय ६५ रुपैयाँको लागतमा बनेको सडक श्री आरपी÷साप÷समता जेभीले निर्माण सम्पन्न गरेको हो ।

निर्माण सम्पन्न भएपछि २०८३ जेठ २२ गते निर्माण पक्षले बिर्तामोड नगरपालिकालाई सडक हस्तान्तरण गरेको थियो । ६ दशमलव २५ किलोमिटर लम्बाइको यो सडक बिर्तामोडको मात्र नभई पहाडी जिल्लाहरुका लागि प्रभावकारी हुने छ । सडक निर्माणले झापाको पूर्वी क्षेत्रसँगै इलाम, पाँचथर र ताप्लेजुङबाट आउने सर्वसाधारण तथा भारतीय पर्यटकलाई झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढी विमानस्थलसम्म आवतजावत गर्न सहज हुने बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।

व्यावसायिक दृष्टिले महत्वपूर्ण मानिएको सडक १२ मिटर चौडाइको रहेको छ । सडकको दुवैतर्फ पानी निकासका लागि नाली, सडकबत्ती तथा पैदलयात्रीका लागि सहज हुने गरी पेटी निर्माण गरिएको छ । व्यवस्थित पूर्वाधारसहित सडक निर्माण भएपछि यस क्षेत्रको आवागमन, व्यापारिक गतिविधि र सहरी विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंले अध्यक्षता भएको कार्यक्रममा नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयका निर्देशक लीला खतिवडा, नेकपा एमालेका देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दीपक दिनेश दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु उपस्थिति थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu