मुख्य समाचार

भद्रपुरमा प्रकृति संरक्षणको सन्देशसहित काली पूजा पण्डाल

भद्रपुरमा प्रकृति संरक्षणको सन्देशसहित काली पूजा पण्डाल


झापा । झापाको भद्रपुर नगरपालिका–६ कन्हाचोकमा यस वर्षको १०औँ श्री सार्वजनिक काली पूजामा प्रकृति संरक्षणको सन्देश दिने गरी आकर्षक पूजा पण्डाल निर्माण गरिएको छ।

बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बांग्ला भद्रपुरले हरेक वर्ष आयोजना गर्दै आएको काली पूजालाई यसपटक ‘प्रकृति संरक्षणमा जिम्मेवार बनौँ’ मानव भविष्य सुरक्षित बनाऔुं भन्ने मूल सन्देशसहित विशेष स्वरूप दिएको हो। पूजास्थलमा काली माताको मूर्ति स्थापना गरी बाँसका आकृति, माटोका घैँटा, खुत्रुके तथा विभिन्न चराचुरुङ्गीका प्रतिमा प्रयोग गरेर पण्डाल सजाइएको छ।

पण्डाललाई प्राकृतिक वातावरणको झल्को दिने गरी जंगलको स्वरूपमा तयार पारिएको छ। त्यसमा थर्मकलबाट निर्माण गरिएका चराचुरुङ्गीका आकृतिले थप आकर्षण थपेका छन्। परम्परागत धार्मिक आस्था र सिर्जनात्मक कलालाई जोड्दै निर्माण गरिएको पण्डालले प्रकृति संरक्षणको महत्त्वलाई समेत उजागर गर्न खोजेको क्लबका अध्यक्ष निर्मल घोषले जानकारी दिए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्लाई मध्यनजर गर्दै पण्डालमा सचेतनामूलक प्लेकार्डसमेत राखिएका छन्। हालै भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको ठूलो जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण हिमताल विस्फोटलगायतका घटनाबाट उत्पन्न जोखिमलाई चित्रण गर्दै विपद्बाट बच्ने उपाय र त्यसका असरबारे जानकारी दिइएको छ।

अध्यक्ष घोषका अनुसार प्रकृति संरक्षणमा मानिस आफैँ जिम्मेवार हुनुपर्छ भन्ने सन्देश आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यस वर्षको पण्डालको थिम छनोट गरिएको हो। काली पूजालाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी सामाजिक चेतना र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने माध्यम बनाउन खोजेका छौँ,’ अध्यक्ष घोषले भने, ‘प्रकृतिको संरक्षण गर्न सके मात्रै भविष्यका विपद् र जोखिम न्यूनीकरणमा सहयोग पुग्छ भन्ने सन्देश पण्डालमार्फत दिन खोजिएको हो।’

क्लबले विगतका वर्षमा पनि फरक र सिर्जनात्मक विषयवस्तुमा आधारित पूजा पण्डाल निर्माण गर्दै आएको छ। अघिल्लो वर्ष नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको आकृति समावेश गरी बनाइएको पण्डालले देशव्यापी चर्चा पाउनुका साथै राष्ट्रिय सञ्चारमाध्यममा समेत स्थान पाएको थियो। त्यसअघि केदारनाथ मन्दिरको स्वरूपमा निर्माण गरिएको पण्डाल सामाजिक सञ्जालमा चर्चित बनेको थियो।

यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै स्थानीय कला, सिर्जना, पर्यटन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले पूजालाई थप व्यवस्थित र आकर्षक बनाइएको क्लबले जनाएको छ।

पूजाको अवसरमा कात्तिक २७ गते शुक्रबार स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने क्लबका उपाध्यक्ष विजय साहले जानकारी दिए। उनले पण्डाल निर्माणमा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई धन्यवाद समेत दिएका छन् । पण्डाल निर्माण, विद्युत् तथा बत्तीको सजावट र सांस्कृतिक कार्यक्रमलगायत व्यवस्थापकीय कार्यमा करिब साढे ८ लाख रुपैयाँ खर्च हुने अनुमान क्लबका सञ्जय आइचले बताए ।

क्लबले विगत १० वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस पूजाले भद्रपुर क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउनुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धिमा समेत योगदान पुर्‍याउँदै आएको क्लबका सदस्य अरुप घोषले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu