काठमाडौं – उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बस, माइक्रोबस र ट्याम्पोमा जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जनाएका छन्।
निजी सवारी साधनमा भने जोर-बिजोर प्रणाली यथावत् राखिएको छ। अर्को आदेश नभएसम्मका लागि दुई पाङ्ग्रे सहितका निजी सवारी साधन र ट्याक्सीमा जोर बिजोर प्रणाली लागू हुनेछ। जोर दिनमा जोर नम्बर भएका सवारी साधन र बिजोर दिनमा बिजोर नम्बर भएका सवारी साधन मात्रै चलाउन पाइनेछ।
सार्वजनिक यातायातसँगै औषधि एवं स्वास्थ्य तथा सरसफाइ सामग्री बोक्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहनमा पनि जोर-बिजोर प्रणाली लागू हुनेछैन। त्यस्तै, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन, खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपन्छी एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा पनि जोर-बिजोर लागू हुनेछैन। तर, यी सवारी साधनमा चालक र सहचालक मात्रै बस्न पाइनेछ।
कोरोना नियन्त्रणका लागि जारी गरिएका अन्य स्वास्थ्य मापदण्ड भने यथावत छन्। जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न लगाइने भएको छ।







प्रतिक्रिया