मुख्य समाचार

विदेशी सुपारीको आयात बन्द गर्न जोनको माग

विदेशी सुपारीको आयात बन्द गर्न जोनको माग


बिर्तामोड । स्वदेशी उत्पादनले भाउ नपाइरहेको परिप्रेक्ष्यमा इण्डोनेसियाबाट सुपारी आयात गर्न सरकारले ब्यापारीलाई अनुमति दिएको घटनाप्रति सुपारी जोन झापाले रोश प्रकट गरेको छ ।

एक हजार हेक्टरमा खेती गरिएमा सुपरजोन घोषणा गरी सरकारले लगानी बढाउने कृषि नीति विपरित २७ सय हेक्टर क्षेत्रफलमा सुपारी खेती गर्दा पनि सरकारले जोनमात्र भनिदिएर लगानी न्यून भएको अवस्थामा अझ विदेशबाट आयात गर्न अनुमति दिएर कृषकमाथि कुठाराघात गरिरहेको कृषकहरुको आरोप छ ।

सुपारी जोन समन्वय समिति झापाका संयोजक निलकण्ठ तिवारीले एक विज्ञप्ती प्रकाशित गरी स्थानीय उत्पादनले आवश्यकता पूरा गरेको अवस्थामा बाहेक कोटा तोकेर विदेशी वस्तु आयात गर्नुपर्नेमा स्थानीय कृषक र व्यापारीलाई तहसनहस बनाउने गरी सुपारीको आयात गर्न दिएको प्रति घोर निन्दा र भत्सर्ना गरेका छन् ।

पाँच वर्षसम्म जोनमा अल्मल्याएर सुपारी खेतीप्रति बेवास्ता गरिएको प्रति पनि निन्दा गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सुपरजोन घोषणा गर्नुपर्नेमा जोनलाई नै हटाउने सरकारको मनसाय देखिएको हुँदा झापामा सुपारी सुपरजोन घोषणा गर्न र विदेशी सुपारी आयात बन्द गर्न सरकारसँग जोडदार माग गर्दछ ।’

शेयर गर्नुहोस :

0
Shares