Banner news

बिर्तामोडको फुटपाथमा व्यापार नगर्ने कागज गरेर छुटे व्यवसायी

बिर्तामोडको फुटपाथमा व्यापार नगर्ने कागज गरेर छुटे व्यवसायी


बिर्तामोड । बिर्तामाडका पाँच जना फुटपाथ व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिई छोडिदिएको छ । नगरपालिकाले फुटपाथ हटाउन गरेको निर्णयलाई उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

बुधबार दिउँसो बिर्तामोड –४ का राकेश शाह, विनोद पासवान, सिमिया दास, शिला पासवान र मिरा दासलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई पुनःफुटपाथमा पसल नराख्ने सहमति गरेपछि प्रहरीले नियन्त्रण मुक्त गरेको हो । सहमति उल्लंघन गरेमा कानुनी कारवाही अघि बढाउने प्रहरीको भनाई छ ।

बिर्तामोड नगरपालिकाले सर्वदलीय र सर्वपक्षीय बैठक बसेर यहाँको फुटपाथ हटाउने निर्णय गरेको थियो । गत साउन २० गते निर्णय गरेर २२ गते सूचना जारी गरेको बिर्तामोड नगरपालिकाले ७ दिनको समय दिएको थियो । सो समयभित्र आफ्नो व्यवस्थापन मिलाउन नगरपालिकाले फुटपाथका व्यवसायीलाई आग्रह गरेको थियो ।

नगरको निर्णय उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिदैं कारवाही अघि बढाउने डिएसपी कुँवरको भनाई छ । उनले नगरको निर्णयलाई कडाइका साथ पालना गर्ने बताएका छन् ।

वर्षौदखि फुटपाथमा व्यवसाय गर्दै आएका व्यवसायीलाई पटक–पटक ठाउँ खाली आग्रह गर्दा समेत अटेरी गरेपछि नगरपालिका आक्रामक रुपमा प्रस्तुत भएको छ । कुनै हालतमा फुटपाथ खाली गराएर छाडने नगरका प्रवक्ता अग्नीप्रसाद पाण्डे बताउँछन् । व्यवसायीलाई उचालेर आन्दोलनमा सहभागी गराउनेहरुलाई समेत कानुनी कारवाही गर्ने नगरले स्पष्ट बनाएको छ । वैद्य माओवादी निकट मजदुर युनियनले फुटपाथ व्यवसायीलाई आन्दोलनमा साथ दिएको देखिन्छ ।

शेयर गर्नुहोस :

0
Shares