बिर्तामोड । कनकाई नगरपालिकाल वडा नं. ९ ले विरिङ खोलामा फोहोर फाल्नेलाई कारवाही गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय झापालाई पत्र लेख्दै वडाले कारबाहीको माग गरेको हो ।
सोमवार विरिङ खोलामा अस्पतालजन्य फोहोर फालेको भेटिएको थियो । बिर्तामोडमा रहेका केहि अस्पतालले विरिङमा लगेर फोहोर फालेको वडा कार्यालयले जनाएको छ । वडाले कारवाहीका लागि लेखेको पत्रमा मनमोहन अस्पताल बिर्तामोड, कनकाई हस्पिटल बिर्तामोड र बिर्तामोड आँखा अस्पतालको फोहोर फेला परेको उल्लेख गरिएको छ ।

मानवीय जीवन, जैविक विविधता र पर्यावरणमा गम्भीर असर पुग्ने गरी गरिएको कार्यप्रति सबैले विरोध जनाएका छन् । सो कार्यमा संलग्न बारे जाँचबुझ गरी दोषी उपर कारवाहीको लागि माग गरिएको वडा नं. ९ का अध्यक्ष राजेन्द्र प्रसाद उप्रेतीले जनाएका छन् ।
विरिङमा अस्पतालका सिरिन्च, केमिकल लगायत अस्पतालनज्य फोहोर फेला परेको छ । बिर्तामोडस्थित मनमोहन अस्पतालका सञ्चालक रोमणी भट्टराईले सार्वजनिक क्षेत्रमा फोहोर फाल्न नपठाएको जानकारी दिए । उनले फोहोर उठाउने कम्पनीले आफ्नै जग्गामा फोहोर व्यवस्थापन गर्ने सम्झौता अनुसार उठाउन दिएको बताए । भट्टराईले भने, ‘यो गम्भीर त्रुटि भएको छ । हामी पनि सोधीखोजी गरिरहेका छौं । खोलामा फोहोर फालिएकाले फाल्नेलाई सरसफाई गराउने सोच बनाएका छौं ।’








प्रतिक्रिया