Banner news

फ्लासब्याक २०७४ : झापामा १५ मा १५ निल भएको कांग्रेस

फ्लासब्याक २०७४ : झापामा १५ मा १५ निल भएको कांग्रेस


बिर्तामोड । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न आंकलन शुरु भएको छ । धेरै जसो आंकलन आफ्नो पार्टीकै पक्षमा गरिएको सुनिन्छ । झापाका पाँच वटा निर्वाचन क्षेत्रमा आसन्न निर्वाचनको परिणामले नै जीत संख्या निर्धारण गर्नेछ । अर्थात, आंकलन ठिक बेठिक मंसिर ४ को परिणामले स्पष्ट बनाउने छ ।

झापामा अहिले कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले चुनावी मैदानमा होमिएका छन् । जिल्लामा एमाले र राप्रपाको चुनावी तालमेल पनि छ । ०७४ को निर्वाचनमा पनि राप्रपा र एमालेले कतिपय सिटमा तालमेल गरेका थिए ।
अघिल्लो निर्वाचनमा कांग्रेस सबै ठाउँ पराजित भएको थियो । एमालेसँग कांग्रेसका उम्मेदवार दोब्बर मतान्तरले पराजित भएको तथ्याङक निर्वाचन आयोगमा छ । अधिकांश निर्वाचन क्षेत्रमा एमालेसँग पराजित भएको कांग्रेसले एक सिट पनि जोगाउन सकेको थिएन ।

झापा क्षेत्र नं. १ मा एमाले र माओवादीका उम्मेदवार राम कार्कीले कांग्रेसका विश्वप्रकाश शर्मालाई २८६३ मत अन्तरले पराजित गरेका थिए । अहिले कार्की विश्वप्रकाश शर्माकै गठबन्धनमा छन् । अहिले कार्कीभन्दा सशक्त उम्मेदवार अग्नि खरेललाई एमालेले उम्मेदवार बनाएको छ ।

यस्तै, झापा २ मा पवित्रा निरौला खरेलले कांग्रेसका तत्कालिन जिल्ला सभापति उद्वव थापालाई पराजित गरेकी थिइन् । उनले थापाभन्दा १३ हजार ७ सय ६७ मत बढि ल्याएकी थिइन् । अहिले झापा २ मा एमालेबाट टिकट नपाएर एमाले परित्याग गरेका हरि राना गठबन्धनबाट उम्मेवार बनेका छन् । उम्मेदवार मनोनयनका दिन मात्रै एमाले परित्याग गरेका रानालाई गठबन्धनले पनि बलियो उम्मेदवारका रुपमा लिएको छैन । एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

झापा –३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एमालेको सहयोगमा निर्वाचित भएका थिए । उनले कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । सिटौलालाई लिङदेनले १३ हजार ४ सय ५८ मतान्तरले चुनाव हराएका थिए । तिनै सिटौला र लिङदेन मंसिर ४ को निर्वाचनमा फेरि उम्मेदवार बनेका छन् । लिङदेनलाई फेरि एमालेले सघाएको छ ।
निर्वाचन क्षेत्र नं. ४ मा एमालेका उम्मेदवार एलपी साँवाले तत्कालिन कांग्रेस झापाका उपसभापति देउमान थेवेलाई हराएका थिए । थेवेभन्दा साँवाले १६ हजार ६ सय ९३ मत बढि ल्याएका थिए । अहिले कांग्रेसका उम्मेदवार थेवे कांग्रेसका जिल्ला सभापति छन् । उनीसँग एमालेका साँवा चुनावी प्रतिष्पर्धाको मैदानमा छन् । ठुलो मतान्तर हुने निर्वाचन क्षेत्रमा साँवाले फेरि जीतलाई निरन्तर लैजाने अनुमान गरिएको छ ।

झापा – ५ मा एमालेका उम्मेदवार केपी शर्मा ओलीले देशभरमै सबैभन्दा धेरै मत ल्याएर विजयी भए । उनले ५७ हजार १ सय ३९ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवार डा.खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेका थिए । एमाले अध्यक्ष ओलीले अधिकारीलाई २८ हजार ८ सय ४२ मत अन्तरले पराजित गरेका थिए । लज्जास्पद हार व्यहोरेका अधिकारी फेरि चुनावी मैदानमा दोहोरिएका छन् ।

झापामा माओवादी चौथो शक्ति हो । एमाले र राप्रपा एकातिर हुँदा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई ठुलो राहत नहुने स्पष्ट छ । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा गरी १५ वटै सिटमा परिणाम निल हात पारेको थियो ।

शेयर गर्नुहोस :

0
Shares