Banner news

को हुन् प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की ?

को हुन् प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की ?


झापा । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशप्रमुख परशुराम खपुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ सांसदको आवश्यकता पर्नेमा कार्कीलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० जनाको समर्थन रहेको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

वि. सं. २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिएका कार्कीका अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । उनको वाल्यकाल गौरादहमै वितेको र एसएलसि सम्मको अध्ययन स्थानीय जनता मा.वि मा भएको थियो ।

विद्यार्थी आन्दोलनदेखि मुख्यमन्त्री सम्म
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्ययार्थी राजनीतिमा प्रवेश गरेका हुन् । १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा सहभागी भएका थिए । उनका बुबा बमबहादुर समेत राजनीतिक तथा सामाजिक व्यक्ति भएकै कारण उनलाई राजनीतिमा आउन प्रेरणा मिलेको थियो ।

उनले २०३७ सालमा अनेरास्ववियु पाँचौको सदस्य लिएका थिए । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आइएल अध्ययन गर्ने उद्देश्य राखी ०४२ सालमा धरान आएका थिए । आइएलको पहिलो व्याचका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी २०४५ साल पुषमा नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भएका थिए ।

ल क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हुँदै उनी २०४६ सालको आन्दोलनमा सहभागी भएका थिए । त्यसबेला पार्टीका ठूला नेताहरु जेल गइसकेपछी मुख्यमन्त्री कार्कीको नेतृत्वमा रेवतीरमण भण्डारी सहितले आन्दोलनको नेतृत्व गरेका थिए । त्यसबेला उनलाई काठमाडौंमा पक्राउ गरिएको थियो । उनले कानुनमा स्नातकोत्तर तह (एल एल एम) को अध्ययन पूरा गरेका छन् ।

अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भुमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डौँ अध्यक्ष ३ कार्यकाल, बाग्मती अञ्चल कमिटी अध्यक्ष) निर्वाह गरे । नेता कार्की २०५० सालमा अनेरास्ववियुको केन्द्रीय सचिव निर्वाचित भएका थिए । त्यसपछी उनले उपाध्यक्षको जिम्मेवारी पनि समालेका थिए । उनी २०५५ सालमा भदौ २७ गते १४औं राष्टिय महाधिवेशनबाट अनेराववियुको केन्द्रीय अध्यक्षको पदमा निर्वाचित भएका थिए । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हालेका कार्की विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् ।

पार्टीको ५ राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे सँगै महत्त्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा रहेका छन् ।

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए पछी २०७१–२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरेका कार्की संविधान अनुकूल संघियता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका निर्वाह गरि सकेका छन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी समालेका थिए ।

करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् ।

प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिवृद्धि, सस्थागत सवलीकरण, अधुनिकीकरण र पुर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् । सीमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा व्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रीय सरकार मातहतको सशस्त्र प्रहरी बललाई समेत सबल र सक्षम बनाउदै लैजानु पर्छ भनेर सीमा सुरक्षाका निम्ति बोर्डर आउट पोस्ट निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गरेका थिए । संचार क्षेत्रको समेत जिम्मेवारीलाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरि समग्र सञ्चार क्षेत्रको बिकासमा समेत उनको योगदान रहेको छ ।

कार्की २०७९ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समेत झापा ५(१)बाट प्रदेश सभा सदस्यमा बिजयी भएका थिए ।

देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटी सदस्यका रुपमा रहेका कार्की एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यका रुपमा निर्वाचित भएका थिए । अहिले नेकपा (एमाले)को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जका भूमिकामा समेत रहेका कार्की आइतबार विधिवत रुपमा प्रदेश एकको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares