पोखरा । म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित प्लेन मेरो आँखै अगाडि सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिए । चप्पल पनि लगाएको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।
म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिए । त्यहाँ पुगेर मैले उनलाई तानें । उनको सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनू भन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।
मैले नहाल्नू–नहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घटना हुँदा १४–१५ जना नजिकै थिए । तर, त्यहाँ कोही बचाउन आएनन ।
प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सास चलिराखेको थियो । पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन । सबै भिडियो बनाएर बसे ।
अझ मैले त ‘तपाईंका बाबुआमा होलान, दाजु भाइ होलान् आउनुस’ भनेको हुँ । मेरो कुरा कसैले सुनेनन, म एक्लैले ७ जनालाई बाहिर निकालें ।







प्रतिक्रिया