अर्जुनधारा । अर्जुनधारा नगरपालिका– ३ ले वडामा सोमबारबाट घरेलु सेनेटरी प्याड बनाउने ५ दिवसीय तालिम सुरु गरेको छ । वडा कार्यालयको आर्थिक व्यवस्थापनमा सुरु भएको तालिमलाई वडा स्तरीय महिला समितिले आयोजना गरेको हो ।
जुकेखाडी सामुदायिक वनको कैदले गृनरी हलमा सुरु भएको तालिमको कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईले उद्घाटन गरेका थिए । उनले तालिमको उद्घाटन गर्दै तालिमबाट सिकेको सिप सबैले व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे ।

तालिम संचालनका लागि वडा कार्यालयले चालु आर्थिक बर्षमा विनियोजन गरेको २ लाख ५० हजार बजेट मध्येबाट घरेलु सेनेटरी प्याड बनाउने तालिम संचालन भएको ३ नम्बर वडा कार्यालयका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए । उनले सोही बजेट शिर्षक अन्तर्गत क्षमता विकास तथा उद्घोषण तालिम संचालन गर्ने योजना समेत रहेको बताए ।
५ दिवसीय तालिमका सहभागिहरुलाई सबिता भुजेलले प्रशिक्षण प्रदान गर्नुहुने कार्यक्रमको आयोजक वडा स्तरीय महिला समितिकी अध्यक्ष माया राईले जानकारी दिइन् । तालिको पहिलो दिन वडाका करिब १ सय २० जना महिलालाई सैद्धान्तिक रुपमा महिला स्वास्थ्य, घरेलु सेनेटरी प्याडको महत्व, उत्पादन बिधि, प्रयोग लगायतका बिषयमा जानकारी प्रदान गरिएको थियो ।
तालिमका सहभागिहरुले २६, २७, २८ र २९ गते प्रयोगात्मक रुपमा व्यवहारी अभ्यास गरेर सेनेटरी प्याड निर्माण गर्ने तालिम लिने बताइएको छ । दुई दिन ५० जना र अर्को २ दिन ५० जनाको समुह बनाएर तालिम प्रदान गरिने आयोजकले बताएको छ । १ सय जना महिलालाई घरेलु सेनेटरी प्याड निर्माण गर्न दक्ष बनाउने तालिमको मुख्य उदेश्य रहेको बताइएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी पूर्वउपप्रमुख कमला खतिवडा आचार्यको बिशेष आतिथ्य रहेको थियो । त्यस्तै नगर कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्यहरु नारायण चापागाई, सुमन कुमारी राई (सुमन्ता), सितादेवी सार्की, वडा सचिव खगेन्द्र लिङदेन, जुकेखाडी सामुदायिक वनकी पर्यटन कोषाध्यक्ष मनिला जवेगु, अस्थाई प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज यमनाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
आयोजक वडा स्तरीय महिला समितिकी सचिव सुशिला नेपालले संचालन गरेको उद्घाटन कार्यक्रममा समिति सदस्य पार्वता राईले स्वागत मन्तव्य राखेकी थिइन् ।







प्रतिक्रिया