मुख्य समाचार

१४ महिनापछि कर्जाको ब्याजदर १२ प्रतिशत मुनि

१४ महिनापछि कर्जाको ब्याजदर १२ प्रतिशत मुनि


बिर्तामोड । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशत मुनि आएको छ । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी योग्य पुँजी यथेष्ट रहेसँगै कर्जाको ब्याजदर घट्न थालेको हो । यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो। कर्जाको ब्याजदर ८ प्रतिशत बिन्दुले घटेको हो ।

राष्ट्र बैंकले गत शुक्रबार मात्रै नीतिगत ब्याजदरहरू घटाएको छ । राष्ट्र बैंकले बैंक दरको रूपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । त्यस्तै, ओभरनाइट रिपोको दर समेत ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।

बैंकहरूले राष्ट्र बैंकबाट सापट लिने दरहरू घटेपछि कर्जाको ब्याजदर समेत महिनाको मध्यमै घटाउन थालिसकेका छन् । यसले पुस महिनाको कर्जाको ब्याजदर थप घट्ने संकेत गरेको छ ।

चार खर्ब ७८ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार आठ सय ४१ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।

शेयर गर्नुहोस :

0
Shares