बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ । ‘हाम्रो आफ्नै घर होस्’ अभियानअन्तर्गत ल्याइएको ‘मेरो आफ्नै घर–कर्जा’ योजनामा सदस्यले २० वर्षसम्मको भुक्तानी अवधि पाउनेछन् ।
शनिबार आयोजित पद हस्तान्तरण समारोहमा सहाराले नयाँ कर्जा योजना सार्वजनिक गरेको हो । संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार सदस्यले घर निर्माण तथा आवास प्रयोजनका लागि अधिकतम २५ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । कर्जाको ब्याजदर दुई वर्षसम्म परिवर्तन नहुने संस्थाको नीति रहेको उनले बताए ।
कम ब्याजदर र लामो भुक्तानी अवधिको यो योजनाले आफ्नै घर बनाउने सपना बोकेका सदस्यलाई राहत पुग्ने संस्थाको विश्वास छ । घर निर्माणका लागि आवश्यक पुँजी जुटाउन कठिनाइ भोगिरहेका सदस्यलाई लक्षित गरी अभियान अघि सारिएको गिरीले बताए ।

सदस्य संख्या र ऋण कारोबारका हिसाबले देशकै ठूलो बचत तथा ऋण सहकारी संस्थामध्ये परिचित सहारा नेपालले सदस्यको आवास आवश्यकतालाई प्राथमिकतामा राखेर नयाँ कर्जा उत्पादन बजारमा ल्याएको हो ।
यसैबीच, संस्थाको नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष हरि राजवंशीले नवनिर्वाचित अध्यक्ष छविलाल खतिवडालाई सञ्चालक समितिको माइन्युट हस्तान्तरण गरेका थिए । त्यस्तै, वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले लेखा सुपरिवेक्षण समितिका संयोजक डम्बर देउजालाई समितिको माइन्युट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सहारा शिक्षा सदनका विद्यार्थी तथा कर्मचारीले देउसी–भैलोसहित सांगीतिक प्रस्तुति दिएका थिए ।







प्रतिक्रिया