Banner news

बिर्तामोडमा मनाइयो सामुहिक हुकाहुकी पर्व

बिर्तामोडमा मनाइयो सामुहिक हुकाहुकी पर्व


बिर्तामोड । झापाको बिर्तामोडमा भव्यताका साथ सामुहिक हुकाहुकी पर्व मनाइएको छ । राजवंशी समुदायले शुभदिपावलीमा मनाउँदै आएको हुकाहुकी पर्व सांस्कृतिक कार्यक्रमसहित भव्यताका साथ मनाइएको हो ।

हरेक वर्ष दिपावलीमा राजवंशी समुदायले मनाउँदै आएको पर्व गैरराजवंशी समुदायको समेत सहभागितामा भव्यताका साथ मनाइएको हो । राजवंशी युवा समिति बिर्तामोडको आयोजनामा बिर्तामोड –९ स्थित दुर्गा माविको खेल मैदानमा शनिवार साँझ हुकाहुकी पर्व मनाइएको हो ।

समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले राजवंशी युवाहरुले हुकाहुकीलाई विशेष बनाएका हुन् । घरघरमा मनाइने पर्वलाई राजवंशी युवाहरुले सार्वजनिक कार्यक्रमको रुपमा आयोजना गर्दै कला संस्कृति, मौलिक पहिचान र रितिरिवाजबारे जानकारी समेत गराएका छन् ।

राजवंशी युवाहरुले आयोजना गरेको हुकाहुकी सांस्कृतिक कार्यक्रममा समुदायका ज्येष्ठ महिलाहरुले धार्मिक विधि मार्फत पूजा गरेर हुकाहुकी खेल्न सुरु गरिएको थियो । केहीबेर हुकाहुकी खेलेपछि आगो दिएर धार्मिक विधि बमोजिम विसर्जन गरिएको थियो ।

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वसदस्यसचिव कमल राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक बलराम राजवंशी, कृपा पौडेललगायत स्थानीय कलाकारले गीत प्रस्तुत गरेका थिए । सो अवसरमा स्थानीय कलाकार र राजवंशी युवायुवतीहरुले नृत्य समेत प्रस्तुत गरे ।

राजवंशी युवा समिति बिर्तामोडका अध्यक्ष विश्वदिप राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलसहित राजवंशी समुदायका अगुवा व्यक्तित्वहरुको सहभागी रहेको थियो ।

के हो हुकाहुकी ?
हुकाहुकी राजवंशी समुदायको पुख्र्यौली धार्मिक तथा सांस्कृतिक पर्व हो । विशेषगरी तिहार अर्थात् दीपावलीको समयमा मनाइन्छ । परम्परागत रूपमा कुस वा जुटका सन्ठीबाट निर्मित हुका (राँको) बालेर सामूहिक रूपमा खेल्ने, दिवंगत पुर्खा तथा अग्रजहरूको सम्झना गर्ने, कुलदेवता र ग्रामदेवताको स्मरण गर्ने तथा परिवार र समाजको सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा यस पर्वसँग जोडिएको छ । यो पर्व मनोरञ्जन मात्र नभई पुर्खाप्रतिको सम्मान, धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीक हो ।

हुकाहुकी पर्वमा दिवंगत पुर्खा तथा अग्रजहरूको सम्झना र सम्मान गर्ने परम्परा, कुलदेवता, ग्रामदेवता तथा लक्ष्मी माताको पूजा–आराधना गरी परिवार र समाजको सुख, शान्ति र समृद्धिको कामना गर्ने, धानबाली, धानबारी र राम्रो उत्पादनको कामनासँग जोडिएको परम्परागत कृषि जीवनशैलीको संरक्षण गर्ने, प्राकृतिक स्रोतसाधन, जैविक मल तथा पुख्र्यौली कृषि ज्ञान र अभ्यासको महत्व उजागर गर्ने र राजवंशी समुदायको मौलिक भाषा, भेषभूषा, गीत, संगीत र परम्परालाई जीवन्त राख्ने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu