बिर्तामोड । मेची आँखा अस्पतालले २७ औँ बार्षिकोत्सवमा आँखा दान गर्ने परिवारसहित उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत अवकास प्राप्त कर्मचारीका रुपमा गणेश राय, लक्ष्मण काफ्ले, बुद्धि तामाङ, इष्टबहादुर ठटाल, कटकबहादुर वस्नेत, एलबहादुर गौतमलाई सम्मानसहित विदाई गरेको छ । यसैगरी आँखा दान गर्नेका परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. सपना भट्टराई, बिष्णुप्रसाद रिजाल, धनञ्जय गौतम, रामबहादुर गुरुङ, तीलरुपा चिमरिया, रामप्रसाद सापकोटा, योगमाया खनाल, खडानन्द वाग्ले, अष्टिमिष्ट नेपालका अध्यक्ष खगेन्द्र ओलीको परिवारलाई समेत सम्मान गरिएको थियो ।

शुक्रबार अस्पताल परिसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी अस्पतालले बार्षिकोत्सव सम्पन्न गरेको हो ।
मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी र आँखा दान गर्नेको परिवारलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
मेची आँखा अस्पतालले २ लाख ७६ हजार ८ सय ९३ जना विरामीको आँखा परीक्षण गरेको छ । जसमा ३६ हजार ३ सय ५८ जना विरामीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले वाहिरङ्ग सेवा अन्तरगत एक लाख ९७ जनार ८ सय ७२ जना तथा आउटरिच कार्यक्रम अन्तरगतत ७९ हजार २५ जनाको आँखा जाँच गरेको जानकारी दिएका हुन् ।
अस्पतालमा गरिएको शल्यक्रिया मध्ये ६० दशमलव ३९ प्रतिशत विरामी मेतीयाविन्दूका रहेको डा. जोशीले बताए । उनका अनुसार २१ हजार ९ सय ५७ जना मोतीय विन्दू रोगीको सफल शल्यक्रिया गरिएको हो । मोतीयाविन्दु रोगीको शल्यक्रिया तर्फको वार्षिक वृद्धिदर ३ दशमलव ३१ प्रतिशत रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले अति विशिष्ठ सेवाहरु तर्फ रेटिनाको शल्यक्रिया तर्फ ७ हजार ४ सय २ जना, कोर्नियाको शल्यक्रिया २ हजार ८ सय ५ जना अकुलोप्लाष्टिको शल्यक्रिया तीन हजार ५ सय ९७ जना र अन्य शल्यक्रिया ६ सय २७ जनाको गरेको डा. जोशीले जानकारी दिए ।
बार्षिकोत्सवको अवसरमा चस्मा लगाउनु पर्ने बिरामीका लागि चस्मा लगाउन नपर्ने कोर्निया एण्ड रिफ्रयाक्टिभ युनिटको शुरुवात गरिएको थियो । त्यस्तै बालबालिकाको आँखा उपचारका लागि पेडियाट्रिक आइ क्लिनिकसमेत सञ्चालनमा आएको छ ।
कार्यक्रममा प्राडा मिनु चौधरी, प्रदेश सांसद एकराज कार्की, मात्रिका आइ सेन्टरका किशोर प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम मेची आँखाका सचिव गणेश पोखरेलले सञ्चालन गरेका थिए । अस्पतालका सदस्य चण्डीप्रसाद पराजुली र उनकी धर्मपत्नी यशोदा ढकाल पराजुलीलाई ५०औं वैवाहिक वर्षगाँठको शुभकामना दिइएको थियो ।







प्रतिक्रिया