मुख्य समाचार

कांग्रेसले एक निष्ठावान नेता गुमायो : देउवा

कांग्रेसले एक निष्ठावान नेता गुमायो : देउवा


शनिश्चरे । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले कांग्रेसले एक निष्ठावान नेता गुमाएकोमा पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् ।

देउवाले नेपाली कांग्रेस झापाद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री स्वर्गीय केशबकुमार बुढाथोकीको सातौं पुण्य तिथिको अवसर पारेर अर्जुनधारा नगरपालिका –८ तुतबारीस्थित बुढाथोकी निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा स्व. बुढाथोकीप्रति श्रद्धासुमन अर्पण गर्दै यस्तो बताएका हुन् । उनले स्व. बुढाथोकीको तस्बीरमा माल्यार्पण गरेका थिए ।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिब ढुंगानाले वाचन गरेको समवेदना–पत्र सभापति देउवाले शोकाकुल परिवारका सुदर्शन बुढाथोकीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले समवेदना हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा जिल्ला कार्य समितिसहित साता वटै क्षेत्र सबै गाउँ, नगर समितिबाट आएको समवेदना पत्रहरु एकमुष्ठ जिल्ला सभापति देउमान थेवेबाट शोकाकुल परिवारका सुदर्शनलाई हस्तान्तरण गरिएको सचिव कृष्ण हुमागाइँले जानकारी दिए ।

यसअघि पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति देउवा, नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकाश शरण महत, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की , राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला लगायतले शोकाकुल परिवारजनहरुलाई भेटेर गहिरो समवेदना प्रकट गरेका थिए । कार्यक्रममा सुदर्शनले यस दुःखद घडीमा समवेदना प्रकट गर्ने पार्टी लगायत सम्पूर्ण शुभेच्छुक प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गरे ।

शेयर गर्नुहोस :

0
Shares