बिर्तामोड । आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । आज सम्पर्क कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उद्घाटन गरेका छन् ।
स्वतन्त्र व्यवसायिक प्यानलबाट अध्यक्षमा अर्जुन मैनाली, वरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेदवारी दिएका छन् भने अन्य पदहरुका उम्मेदवार मिलाएर लाने बताइएको छ । स्वतन्त्र प्यानलले उम्मेद्वारी घोषणाको अन्तिम तयारी गरेको जनाएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रदेश सभा सदस्य एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीले गरेका थिए ।
संयोजक कार्कीले स्वतन्त्र व्यावसायीक व्यानलको जीत निश्चित भएको बताएका छन् । उनले वाणिज्य संघमा व्यवसायीहरुले परिवर्तन चाहेको बताए । वाणिज्य संघमा व्यवसायीको निमित्त काम गर्न नसक्नेहरुले नेतृत्व गर्दा व्यवसायीहरु वाणिज्य संघ प्रति निराश भएको उनको भनाई थियो । उनले वाणिज्य संघप्रति आशा जगाउन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र व्यावसायीक प्यानल सक्षम रहेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य एवम् एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल, निर्वाचन परिचालन समितिका सहसंयोजक कुवेर श्रेष्ठ (अरुण) लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।







प्रतिक्रिया