Banner news

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद


झापा, २६ भदौः स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले आव २०७८-७९ मा रु चार करोड पाँच लाख छ हजार एक सय ८१, आव २०७९-८० मा रु तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ र आव २०८०र८१ मा रु पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा रु एक करोड ७८ लाख ९७ हजार आठ सय ४६ मूल्यका चार हजार दुई सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८-७९ मा एक हजार दुई सय ६८ क्यूबिक फिट, आव २०७९-८० मा दुई हजार चार सय ७२ क्यूबिक फिट र आव २०८०-८१ मा पाँच सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।

शेयर गर्नुहोस :

0
Shares