बुधबार बिहान बिर्तामोडस्थित सिद्धार्थ होटल नजिकै राजेश मण्डलको घरमा आगलागी भयो । आगलागीपछि पानीको लागि दौडधुप भयो । दमकललाई पानीका लागि झापाका बजार क्षेत्रमा सधैं पानीको समस्या हुने गरेको छ । ७ वटा दमकल साढे पाँच घण्टासम्म खटेर आगो नियन्त्रणमा लिए । जहाँ ६ करोड बराबरको क्षति भयो । यो घटनाले ठूलो क्षतिसँगै एउटा गम्भीर प्रश्न खडा गरेको छ । आपत्तिको समयमा दमकलका लागि पानीको दिगो र तत्काल पहुँच खोइ ? आगलागी हुँदा दमकल तयार भए पनि पानी भर्न बुट्टाबारीको चिया बगानका खोल्सा र बिर्ताबजारतिर दमकल दौडाउनुपर्ने बाध्यता आफैँमा हास्यास्पद र दुःखद् दृश्य थियो ।
बिर्तामोड नगरपालिकाको पानी भर्ने मोटर बिजुली जाँदा ठप्प भयो । संयोगले नजिकै रहेको सिद्धार्थ होटलले आफ्नो स्वीमिङ पुलको पानी प्रयोग गर्न नदिएको भए क्षति अझ भयावह हुने निश्चित थियो । निजी होटलको स्वीमिङ पुलको भरमा आगो निभाउनुपर्ने अवस्थाले हाम्रा स्थानीय तहको पूर्वतयारीको बिजोग उदाङ्गो पारेको छ । बिर्तामोड मात्र होइन, भद्रपुर र दमक जस्ता ठूला सहरी क्षेत्रको अवस्था पनि उस्तै छ । दमकलका लागि सहजै पानी भर्न मिल्ने ‘फायर हाइड्रेन्ट’ पोइन्ट जिल्लाभरि कतै छैनन् । भद्रपुरमा नगरपालिका परिसरकै मोटर र दमकमा बजारभन्दा धेरै टाढाका निश्चित विन्दुमा मात्र भर पर्नुपर्ने बाध्यता छ । बिजुली जाने बित्तिकै मोटर ठप्प हुने र नाला–खोल्सा खोज्दै हिँड्नुपर्ने गैरजिम्मेवार व्यवस्थापनले आगलागीका घटनामा क्षति बढाउँदै लगेको छ ।
सहरीकरण तीव्र गतिमा भइरहेका झापाका प्रमुख बजारहरूमा फायर हाइड्रेन्ट नहुनु भनेको ठूलो दुर्घटनालाई निम्तो दिनु हो । बिर्तामोड साना सहरी खानेपानी संस्थाले चारपाने, बुट्टाबारी र मुख्य चोकहरूमा हाइड्रेन्ट पोइन्ट बनाउने योजना बनाएको छ । तर यो कागजी योजनामा मात्र सीमित हुनु हुँदैन । सडक विस्तारका क्रममा पुराना संरचना बिग्रिएका हुन् भने तिनलाई तत्काल पुनर्निर्माण गरिनुपर्छ । आपत्कालीन अवस्थामा दमकलले पानी खोज्न समय खेर फाल्नु भनेको जनधनको विनाश हुनु हो । त्यसैले झापाका सबै नगरपालिकाहरूले खानेपानी उपभोक्ता संस्थाहरूसँग समन्वय गरी बजारका मुख्य–मुख्य चोक र जोखिमयुक्त क्षेत्रहरूमा तत्काल ‘फायर हाइड्रेन्ट पोइन्ट’ जडान गर्न आवश्यक कदम चालिहाल्नुपर्छ ।







प्रतिक्रिया