विर्तामोड , २७ असार । गुरुङ जातिको प्रमुख थातथलो रूपमा रहको गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न संवैधानिक व्यवस्थाले कानुनी मान्यता पाएपछि यति बेला देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायमा हर्ष छाएको छ ।
यसैबीच शुक्रबार झापाको वितामोडको मुक्तिचोकमा पनि एक कार्यक्रमका बीच साँझ दिप प्रज्वलन गरि खुशीयाली मनाएका छन् ।

तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला कार्यसमिति , तमुस्यो महिला झापा जिल्ला कार्यसमिति , तमु विद्यार्थी झापा जिल्ला कार्यसमिति, ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर कार्य समिति , अर्जुनधारा नगर कार्य समिति लगाएतको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो ।
तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला कार्यसमितिका अध्यक्ष जगत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख आनन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला उपाध्यक्ष भागीमान गुरुङल स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन जिल्ला महासचिव राम प्रसाद गुरुङले गर्नुभएको थियो ।
गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न बनेको विधेयक पारित भएपछि देशै भरी छरिएर रहेका गुरुङ र मगर समुदायले खुसीयाली मनाइरहेका छन् ।
२०७८ को जनगणनाअनुसार गण्डकी प्रदेशमा ११ प्रतिशत गुरुङ र १८.८ प्रतिशत मगर भाषी छन्।
यसै गरी तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले विधेयकको स्वागत गरेको छ। परिषद्ले विधानमा व्यवस्था भएअनुरुप गुरुङ समुदायमा सिकाउने र सिक्ने विधिको रूपमा गुरुङहरूको खेमा लिपि प्रयोग हुँदै आएको जनाएको हो ।
खेमा लिपिलाई आधिकारिकता दिन पनि परिषद्ले माग गरेको छ।
उच्च शिक्षासम्म अध्ययन, अध्यापन हुने गुरुङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने गरी ल्याइएको विधेयक कार्यान्वयन हुनेमा परिषद्ले विश्वास व्यक्त गरेको छ।







प्रतिक्रिया