Banner news

झापामा असार मसान्तभित्र ६ सय परिवारलाई धनीपुर्जा

झापामा असार मसान्तभित्र ६ सय परिवारलाई धनीपुर्जा


कनकाईका २०८ परिवारलाई आजै वितरण गरिने

झापा । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनु हुने भएको छ । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज झापा आउनु हुने भएको हो ।
इलामको माई नगरपालिकामा जग्गा धनीपुर्जा वितरणसँगै झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज बुद्धशान्ति गाउँपालिका–३ मा रहेको भागीरथा न्यौपाने अस्पताल उद्घाटन गर्ने त्यसपछि इलामको माई नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटनसँगै जग्गा धनीपूर्जा वितरण गर्ने तयारी गरिएको माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले जानकारी दिनुभयो । यस्तै, सोही ठाउँमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको नगर प्रमुख लिम्बुले जानकारी दिए ।

माई नगरपालिकाबाट फर्किएर आजै कन्काई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।

असार मसान्तभित्र झापाको अर्जुनधारामा १७०, बुद्धशान्तिमा २१८, कनकाईमा २०८, गौरीगञ्जमा ११ जनालाई जग्गा धनीपुर्जा वितरणको तयारी गरिएको छ । भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीका अनुसार आज कनकाई नगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०८ जनालाई धनिपुर्जा वितरण गर्ने तयारी गरिएको छ ।

अन्य पालिकाहरुमा अन्य विशिष्ट व्यक्तिहरुबाट वितरण गरिने जनाइएको छ । झापामा मात्रै यहि महिनाभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने ६ सय परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिने अधिकारीले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री ओली असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन, बिर्तामोडको सिटी सेन्टर आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि काठमाडौं फर्किने बताइएको छ ।

कनकाई नगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनी पुर्जाको प्रमाणपत्र वितरण गर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

उहाँले शनिवार प्रधानमन्त्री ओलीको हातबाट कनकाई–३ स्थित सुरुङ्गामा रहेकोे कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वडाका २ सय ८ जनालाई धनीपुर्जा वितरणको सम्पूर्ण तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भूमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले जानकारी दिनुभयो ।

२०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको थियोे । यसअघि कनकाईका विभिन्न वडाका १ सय ६० जनालाई धनीपुर्जा वितरण गरिएको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।

कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ जना गरी कुल १ सय २७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन् ।

यसबाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलिततर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने जनाएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम संख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुदै आएको कनकाई नगरपालिकामा सबैभन्दा बढी संख्यामा एकसाथ धनीपुर्जा प्राप्त गर्ने भएसगै यस क्षेत्रमा खुशीयाली छाएको छ ।

शेयर गर्नुहोस :

135
Shares