Banner news

सहाराका कर्मचारीमाथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी

सहाराका कर्मचारीमाथि दुर्व्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी


बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीमाथि दुव्र्यवहार गर्ने विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । कर्मचारीमाथि दुव्र्यवहार गर्ने मोरङ्ग मिक्लाजुङ्ग – २ रचनाटार बस्ने नैन प्रसाद लिम्बुकी छोरी दुर्गामाया लिम्बु र सोही स्थानमा बस्ने चन्द्रलाल मगरको पत्नी माया मगरविरुद्ध जाहेरी दिइएको हो ।

सहाराका कर्मचारीहरुले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिदैं उनीहरुलाई कारबाहीको माग गरेका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बि.क. लाई आइतवार ऋण असुली तागेता गर्न जाने क्रममा दुव्र्यवहार गरिएको थियो ।

दुर्गामाया र मायाले अपशब्द बोल्दै गाली गलौज गर्दै हातपात समेत गरी जुत्ताको माला लगाई दुव्र्यवहार गरेको सहारा नेपालले जनाएको छ । जाहेरी दिने कर्मचारीहरुले ऋण असुलीमा गएको बेला कुरा राख्ने क्रममा आफूहरुको कुरा सुन्दै नसुनी योजनावद्ध रुपमा दुव्र्यवहार गरेको जनाएका छन् ।

कर्मचारीमाथि दुव्र्यवहारसँगै दुर्गामाया लिम्बु र माया मगरले मोवाइलबाट भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । जाहेरीमा उक्त विषय समेत जानकारी दिदैं पीडित कर्मचारीले कारबाहीको माग गरेका छन् ।

यसै विषयमा विज्ञप्ति जारी गर्दै सहारा नेपालले सो घटनाप्रति दुख व्यक्त गर्दै खेद प्रकट गरेको छ । सहारा नेपालका अध्यक्ष हरि बहादुर राजवंशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अवाञ्छित कृयाकलापले सिङ्गो सहकारी एवं वित्तीय क्षेत्रलाई तहस नहस गर्ने र कर्मचारीहरुको मनोवल गिराउने भएकोले कर्मचारीहरुको आत्म सम्मानलाई उच्च राख्दै बचत तथा ऋणको कारोवारलाई स्वस्थ बनाउनका लागि यस्तो हर्कत कोही कसैबाट हुन नदिन र गलत एवं दुव्र्यवहार गर्ने सम्बन्धित पक्षलाई कडा भन्दा कडा कारवाही गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।’

सहारा नेपालको एकिकृत कर्मचारी संगठनले पनि विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । संगठनले कर्मचारीको चरित्र हत्या समेत गरेको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्व योजना अनुसार दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गर्दै भिडियो समेत बनाई सामाजिक संजालमा राखेर गरिएको दुव्र्यवहारको घटनामा संगठनले घोर भत्सर्ना गरेको छ । संगठनले सो घटनालाई निन्दनीय, निकृष्ट, अक्षम्य र अमानवीय भनेको छ ।

संगठनका अध्यक्ष यादव प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडियो सामाजिक संजालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको लागि प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’

शेयर गर्नुहोस :

23k
Shares