बिर्तामोड । सभामुख देवराज घिमिरे बुधबार झापामा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित दुई वटा औपचारिक कार्यक्रममा सहभागी भई काठमाडौं फर्किनुभयो । अर्जुनधारा र बिर्तामोड नगरपालिकामा आयोजित दुई कार्यक्रममा उहाँले झापालीलाई एउटा सन्देश छोडेर जानुभएको छ ।
अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्नुभएको सभामुख घिमिरेले बिर्तामोडमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभयो । बिर्तामोडमा पनि उहाँले धनीपुर्जा वितरणको काम प्रारम्भ गर्नुभयो । बिर्तामोड नगरपालिकाले ३ जनालाई धनीपुर्जा वितरण गरेको छ ।

दुई कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी सभामुख घिमिरेले झापावासीलाई वृक्षरोपणमा ध्यान दिन जोड दिनुभयो । दुवै पालिकाको कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले जलवायु परिवर्तनको असर देखिन थालेकोले भावी पुस्ताको लागि अहिले देखि नै ध्यान दिनुपर्ने धारणा राख्नुभयो । हरेक परिवारले वृक्षारोपणमा ध्यान दिनुहोस्, उहाँले भन्नुभयो – सबै राजनीतिक दल, सामाजिक संघ संस्थालहरुले वृक्षारोपणको अगुवाई गर्नुहोस् । स्थानीय तहहरुले अनिवार्य रुपमा यो अभियान थाल्नुहोस् ।
सबै परिवारलाई वृक्षारोपण गर्न सूझाव दिदैं सभामुख घिमिरेले फलफुलका विरुवालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । घरघरमा फलफुल उत्पादन गरौं, विभिन्न प्रजातिका विरुवाहरु रोपौं । जलवायुका असर कम गर्न सबैले ध्यान दिऔं, उहाँले भन्नुभयो ।
सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा वृक्षारोपणलाई अभियानका रुपमा सञ्चालन जानकारी दिनुभयो ।







प्रतिक्रिया