बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धन बहादुर पंधाकले सामी परियोजनाले कमिशनमा काम गरिरहेको आरोप लगाएका छन् । उनले गाउँगाउँमा फैसा फिर्ता गरिदिने नाममा कमिशन लिएर काम गरिरहेको आरोप लगाए ।
आज झापाको बिर्तामोडमा वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम स्थापना दिवस तथा साधारणसभामा बोल्दै पंधाकले विदेश उढ्न लागेका युवाहरुलाई रोक्ने, पैसा फिर्ता गरिदिने बहानामा कमिशन खाने गरेको आरोप लगाए ।
सामी परियोजना सुरक्षित वैदेशिक रोजगारीका लागि काम गर्दै आएको संस्था हो । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको ‘सामी’ माथि अध्यक्ष पंधाकले कमिशनमा काम गरिरहेको आरोप लगाएका हुन् ।
सामी वैदेशिक रोजगारीमा जानु पूर्व र समस्यामा परेका व्यक्तिहरुलाई सहयोगका लागि सहजीकरण गर्दै आएको छ ।
यस्तै, अध्यक्ष पंधाकले व्यूटिपार्लर, कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरुले अवैधानिक रुपमा वैदेशिक रोजगारीको काम गरिरहेको दावी गरेका छन् । उनले वैदेशिक रोजगारीको लागि अनुमति नपाएका निकायहरुले विदेश पठाउने काम गरिरहेकोले तत्काल अनुगमन गर्न आग्रह समेत गरेका छन् । उनले भने ‘हामी लाइसेन्स लिएर, धरौटी बुझाएर काम गछौं । उनीहरु अवैधानिक रुपमा काम गरिरहेका छन् ।’ श्रम कार्यालय झापाका प्रमुखलाई उक्त विषयको जानकारी दिदैं अध्यक्ष पंधाकले व्यवसायलाई मर्यादित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
अध्यक्ष पंधाकले संघको प्रतिवेदन बाचन गर्दै आगामी योजना र समस्याहरुका बारेमा धारणा राखेका थिए । उनले व्यवसायीको हित र सुरक्षित वैदेशिक रोजगारी आफुहरुको मुख्य उद्देश्य रहेको बताए ।
वैदेशिक रोजगार व्यवसायी महासंघका तृतीय उपाध्यक्ष वैकुण्ड प्रसाद पौडेल ‘वैभव’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ भने विभिन्न पदहरुमा मनोनित समेत गरिएको संघका प्रवक्ता ओमप्रकाश भट्टराईले जानकारी दिए ।







प्रतिक्रिया