Banner news

झापा प्रहरीको रणनीति : भारतीय पक्राउ गरेर नेपाली लागुऔषध कारोवारी खोज्ने

झापा प्रहरीको रणनीति : भारतीय पक्राउ गरेर नेपाली लागुऔषध कारोवारी खोज्ने


प्रदीप परियार

झापा । नेपाली लागुऔषध कारोवारीहरु खोजी गर्न प्रहरीले भारतीय कारोवारी उम्किन नदिने रणनीति लिएको छ । उम्किन प्रयास गर्ने भारतीय लागुऔषध कारोवारीहरुलाई प्रहरीले गोली प्रहार गरेर नै नियन्त्रणमा लिइरहेको छ । बैशाखदेखि यता जिल्लाका विभिन्न स्थान प्रहरीले तीन पटक गोली चलाइसकेको छ ।

लागुऔषध कारोवारी पक्राउ गर्न आक्रमक बनेको प्रहरीले शनिवार भद्रपुरमा गोली चलायो । प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भयो । भाग्न खोजेपछि प्रहरीले बल प्रयोग गर्न पाउने कानुनी व्यवस्था अनुसार नै गोली प्रहार गरेका हौं, झापाका प्रहरी प्रवक्ता खड्ग बहादुर खड्का भन्छन् – कारोवारीले प्रहरीमाथि जाइलागेर भाग्ने प्रयास गरेको पाइन्छ । भाग्न नदिन गोली प्रहार गरिएको हो ।

लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले शनिवार दिउँसो ३ बजेर ५० मिनेटमा भद्रपुर–५ स्थित बसपार्क नजिकै गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ बर्षीया मोहम्मद इस्लाम रहेका छन् ।

प्रहरीले घटनास्थलमा दुई राउन्ड गोली चलाएको झापा प्रहरीले जनाएको छ । झापाका एसपी राजन लिम्बुका अनुसार एक राउन्ड हवाई फायर र अर्को गोली कारोबारी इस्लामको बायाँ खुट्टाको घुँडाभन्दा मुनि लागेको छ ।

‘कारोबारी भाग्न खोज्दा प्रतिकारमा प्रहरीले गोली चलाएको हो,’ एसपी लिम्बूले भने – प्रहरीले उनको साथबाट करिब प्लास्टिकसहित ११० ग्राम २ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । घाइतेको अवस्था सामान्य रहेको र उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार लागूऔषध कारोबारी इस्लामसँग ब्राउन सुगर खरिद गर्न पुगेका प्रहरी टोली एउटा होटेलमा बसेका थिए । होटल बाहिर कारोबारी पुग्न साथ प्रहरीले समात्न खोज्दा प्रतिकारमा गोली चलेको बताइएको छ ।

प्रहरीले भारतीय कारोवारीलाई पक्राउ गर्दा नेपालका सम्बन्धित व्यक्ति पक्राउ गर्न सजिलो हुने नीति लिएको छ । गत जेठमा गौरीगञ्जमा किसनगञ्ज जिल्ला खनियाबा ७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । उनको मोवाइलबाट भिडियो पठाएको फेला पारेपछि प्रहरीले सो भिडियोका आधारमा अनुसन्धान अघि बढाउदा थप दुई जना नेपाली ठुला कारोवारीलाई कारसहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भारतीय कारोवारीलाई नियन्त्रणमा लिएपछि उनीहरुको मोवाइल सम्पर्कका आधारमा नेपाली कारोवारीहरु खोजी गर्न थालेको छ । नेपालका ठुला कारोबारीहरु बारे अनुसन्धान गर्न भारतीय स्रोत पनि प्रयोग भइरहेको प्रहरी प्रवक्ता खड्काको भनाई छ । भारतीय कारोवारीहरुबाट नेपाली कारोवारीहरु खोजी भइरहेको जनाइएको छ । उनी भन्छन्, यो गम्मीर विषय भएकाले प्रहरीले सबै उपाय अपनाएर पक्राउ गर्नेछ ।

गत बैशाख तेस्रो सातामा पनि प्रहरीले गोली चलाएको थियो । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भाग्न सफल भएका थिए । कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले चेकिङ गर्दा बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति झोला समेत छाडेर फरार भएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । तर, पनि उनी भाग्न सफल भएका थिए । उनीहरुले फालेको झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

यस्तै असारको अन्तिम साता भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको थियो । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भद्रपुरबाट नियन्त्रणमा लिइएकाहरुको अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका उनीहरुमाथि लागुऔषध प्रयोग, बिक्रि वितरण तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको छ ।

शेयर गर्नुहोस :

1.3k
Shares