Banner news

काँकडभिट्टा नाकाबाट लसुनको आयात २२५ प्रतिशतले वृद्धि

काँकडभिट्टा नाकाबाट लसुनको आयात २२५ प्रतिशतले वृद्धि


झापा – नेपालको पूर्वी नाका काँकडभिट्टाबाट लसुनको आयात २२५ प्रतिशतले वृद्धि भएको छ । नेपाली भान्सामा अनिवार्य प्रयोग हुने लसुनको काँकडभिट्टा नाका भएर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २२५।१ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा सो नाका भएर एक अर्ब ३० करोड ३९ लाख रुपैयाँ बराबरको दस करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन आयात कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए । एक अर्ब ३० करोड ३९ लाख रुपैयाँ बराबरको दस करोड २१ लाख १९ हजार ६२० किलो लसुन आयात गर्दा मेची भन्सारले ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको उनको भनाइ छ ।

त्यस्तै आव २०८०/०८१ मा ४० करोड सात लाख ९४ हजार रुपैयाँको ३२ लाख १६ हजार २० किलोग्राम लसुन आयात गर्दा १० करोड ३५ लाख राजस्व संकलन गरेको उनले बताए । नेपालमा पछिल्लो समय लसुन आयात अस्वाभाविक भएको बताउँदै उनले आयात वृद्धि भएसँगै अघिल्लो वर्षको तुलनामा आव २०८१/०८२ मा कार्यालयको राजस्वसमेत वृद्धि भएर २३ करोड ३१ लाख पुगेको जानकारी दिए ।

सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा काँकडभिट्टा नाकाबाट मात्रै अस्वाभाविक रूपमा लसुन आयात भएकोमा आफूलाई आश्चर्य लागेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेल बताउँछन् । पछिल्ला वर्षमा काँकडभिट्टासहित वीरगञ्ज, भैरहवालगायतका क्षेत्रबाट बढी मात्रामा लसुन आयात हुने गरेको बताउँदै उनले सीमावर्ती भारतीय बजारमा ठूलो मात्रामा चाइनिज लसुन बिक्री हुने भएको कारण आयात बढी भएको जनाए ।

लसुन आयात अस्वाभाविक रूपमा भए पनि त्यसको मूल्य पनि अकासिएको उपभोक्ताहरुको भनाइ छ । धेरै परीमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन नसकेको उपभोक्ताहरुको भनाइ छ । नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठूलो मात्रामा लसुनको प्रयोग गर्ने भएकाले सबै आयात चीनबाट नै भएको बताइएको छ ।

बजारको माग पूरा हुन नसकेपछि छिमेकी देश चीनबाट लसुनको आयात गरिँदै आएको व्यवसायीहरू बताउँछन् । नेपाल र भारतमा फल्ने लसुनको तुलनामा चाइनिज लसुन पोटिलो र ठूलो छ । यसको प्रयोग पनि सहज हुने भएको कारण चाइनिज लसुनप्रति आर्कषण देखिएको उनीहरुको भनाइ छ । आर्थिक वर्ष २०८१/०८२ मा लसुनको आयात मात्रै दुई गुणाले बढेको भन्सार विभागले जनाएको छ ।

एक वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात भएको र यसबापत मात्रै भन्सारले १ अर्ब ७२ करोड रुपैयाँ कर संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा सोही वस्तुको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख किलोग्राम आयात भएको थियो । सो आयातबाट ५७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।

सामान्यतया मसलाजन्य सामग्रीको रूपमा प्रयोग गरिने लसुनको आयात अस्वभाविक बढेको व्यवसायीहरु बताउँछन् । भारत र चीनबाहेक आइभरीकोस्ट, थाइल्यान्ड, बेलायतलगायत देशबाट ताजा, सुकेको, छोडाएको र नछोडाएको लसुन आयात हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा ज्यादै कम मात्र व्यावसायिक खेती हुने गरेकाले लसुनलगायतका मसला बालीमा परर्निभर हुनु परेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पौडेल बताउँछन् ।

सरकारले पनि व्यावसयिक खेती कार्यक्रम सञ्चालन गर्न नसक्दा निर्यातभन्दा आयात अस्वभाविक देखिएको बताउँदै उनले किसानले नेपालमा स्थानीय जात नै लसुन उत्पादन गर्ने गरेको जनाए । उन्नत जातको लसुन उत्पादनका लागि कुनै कार्यक्रम नहुँदा उत्पादन बढ्न नसकेर लसुनको आयात भने अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ ।

शेयर गर्नुहोस :

135
Shares