Banner news

झापामा घट्यो हुलाक टिकटको विक्री

झापामा घट्यो हुलाक टिकटको विक्री


बिर्तामोड । जिल्ला हुलाक कार्यालय झापामा टिकटको विक्री घटेको छ । टिकटको ठाउँमा क्ूआर कोडसमेत प्रयोगमा आउन थालेपछि टिकटको विक्री घटेको जिल्ला हुलाक कार्यालय झापाका सूचना अधिकारी टेकप्रसाद भट्टराईले जानकारी दिए ।

पोष्टर आन्तरिक प्रणाली (पिट्स) सुरु भएपछि टिकटको विक्री घट्न थालेको भट्टराईको भनाई छ । पिट्स प्रणाली खामवन्दी गरिने सामग्रीमा प्रयोग गर्ने गरिएको छ । आन्तरिक र वैदेशिक द्रुत सेवाका लागि निर्धारण गरिएको शुल्क लिने गरिएको छ ।

आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला हुलाक कार्यालय झापाले ७२ लाख ३३ हजार १ सय ४० रुपैयाँको टिकट विक्री गरेको थियो । कार्यालयले गएको आर्थिक वर्ष ०८१-८२ मा ६८ लाख २३ हजार ४ सय ७० रुपैयाँको टिकट विक्री गरेको जनाएको छ ।

हुलाकले १,२,५,१०,३५, ४० र १०० रुपैयाँ दरको टिकट विक्री गर्दै आएको खरिदार सर्मिला श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार पछिल्लो समय बैंक र बीमा संस्थाहरुले धेरै टिकट खरिद गरिरहेका छन् । कार्यालय र व्यक्तिगत प्रयोजनका लागि हुलाक कार्यालयबाट टिकट विक्री हुने गरेको छ ।

संघीय संरचना बमोजिम झापामा जिल्ला हुलाकसहित १५ वटा कार्यालयबाट सेवा प्रवाह भइरहेको बताइएको छ । भद्रपुर बाहेक १४ वटा पालिकामा पालिका हुलाक सञ्चालनमा रहेको छ, श्रेष्ठले भनिन् – जिल्लासहित १५ वटा कार्यालयबाट सेवा दिइरहेकाछौं ।

अहिले हुलाक कार्यालयमा विगतमा जस्तो व्यक्तिगतभन्दा संस्थागत चिठीहरु धेरै आउने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले धेरैजसो चिठी पठाउने गरेको खरिदार श्रेष्ठको भनाई छ । उनले कतिपय चिठी, पार्सलहरुमा ठेगाना अस्पष्ट हुँदा कार्यसम्पादनमा समस्या हुने गरेको बताइन् ।

शेयर गर्नुहोस :

270
Shares