Banner news

पायल्सको उपचार गर्न पानीट्यांकीबाट आउने ‘डाक्टर’ बिर्तामोडबाट पक्राउ

पायल्सको उपचार गर्न पानीट्यांकीबाट आउने ‘डाक्टर’ बिर्तामोडबाट पक्राउ


बिर्तामोड । पायल्सको उपचार गर्ने भन्दै बिर्तामोड आउने एक भारतीय ‘डाक्टर’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतस्थित पुने मोडल कोलोनीका प्रभात चौधरी नाम गरेका व्यक्तिलाई आज बिर्तामोड प्रहरीले अतिथी सदन पछाडि रहेको बालाजी फर्माबाट नियन्त्रणमा लिएको हो ।

पायल्ससँगै आयुर्वेदिक उपचारका लागि आफूलाई डाक्टर भनेर आउने चौधरीलाई बिर्तामोडको बालाजी फर्मा एण्ड क्लिनिकबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । भारतबाट डाक्टर वा स्वास्थ्यकर्मीहरुले नेपालमा अनाधिकृत रुपमा काम गर्न नमिल्ने भन्दै प्रहरीमा सूचना पुगेको थियो । जिल्ला प्रशासन मार्फत प्रहरीलाई सूचना गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

आफुलाई डाक्टर भन्ने चौधरीले पायल्सको उपचार गर्ने भन्दै सो प्रकृतिका विरामीहरुलाई बालाजी फर्माको पछाडि एउटा कोठामा भेट्ने गरेको बुझिएको छ । केहि महिनाअघिसम्म मनकामना क्लिनिकमा काम गर्ने चौधरी बालाजीमा काम गर्न थालेको सूचना प्रहरीसम्म पुगेको थियो । बालाजीका आकाश गोयलले आफ्नो फर्माबाट औषधि लैजाने गरेको स्वीकार गरेका छन् । उनले चौधरी डाक्टर भएको पनि दावी गरे । पानीट्याङकीस्थित बालाजी आयुर्वेद पायल्स क्लिनिकबाट बिर्तामोडमा आएर चौधरी उपचारको काममा लागेको बुझिएको छ ।

अन्य देशका डाक्टर नेपालमा आएर काम गर्दा नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिनुपर्ने व्यवस्था रहेको छ । चौधरीले पायल्सका नाममा प्रयोग गर्ने औषधिहरु समेत घातक रसायनिक पदार्थ रहेको बुझिएको छ । बिर्तामोडका एक चिकित्सले भने, उनले प्रयोग गर्ने ‘औषधी’ पायल्सका लागि प्रयोग गर्न मिल्दैन ।

बिर्तामोड प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहको इप्रका अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

शेयर गर्नुहोस :

5k
Shares