बिर्तामोड । झापासँग सीमा जोडिएको पश्चिम बंगालस्थित पानीट्याङकीबाट बिर्तामोडमा पायल्सका विरामीहरुलाई उपचार गर्न आउने प्रभात चौधरीविरुद्ध अभद्र मुद्धा दर्ता भएको छ । पानीट्याङकीमा आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका चौधरीलाई बिर्तामोड प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको हो ।
पायल्सको उपचार गर्ने भन्दै बिर्तामोड आउने गरेका भारतीय नागरिक चौधरीलाई गत बिहीवार इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो । भारतस्थित पुने मोडल कोलोनीमा घर भई पानीट्यांकीमा कार्यरत चौधरीलाई बिर्तामोडस्थित बालाजी फर्माबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बिर्तामोडका डिएसपी विजय श्रेष्ठले विर्तामोडमा पायल्सको उपचार गर्न आउने भन्ने बारे सूचना पाएपछि नियन्त्रणमा लिई मुद्धा प्रक्रिया अघि बढाएको जानकारी दिए । उनका अनुसार चौधरीबाट उपचारका क्रममा पीडित भएका व्यक्तिहरु सम्पर्कमा आएका छैनन् । सम्पर्कमा आएको खण्डका पीडितहरुको क्षतिको आधारमा कारबाही अघि बढ्ने थियो ।
उपचारका लागि बिर्तामोडमा आएपनि धेरै जसो विरामीहरुलाई पानीट्याङकी नै बोलाउने गरेको अनुसन्धानबाट खुलेको छ । जानै नसक्नेहरुलाई बिर्तामोडमा उपचार गर्ने र बाँकीलाई आफ्नै क्लिनिकमा बोलाउने गरेको बुझिएको छ ।
पायल्स विरामीहरुलाई आयुर्वेदिक उपचारका लागि आफूलाई डाक्टर भनेर आउने चौधरी बालाजी फर्मा एण्ड क्लिनिकको पछाडि कोठा लिएर काम गर्ने गरेको सूचना प्रहरीलाई पुगेको थियो । बालाजीले नै बोलाएको हो वा आफै काम गरेको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ ।
बालाजीका आकाश गोयलले आफ्नो फर्मामा काम नगरेको दावी गरेका छन् । उनका अनुसार फर्माबाट औषधि लैजाने गरेका थिए । उनैले चौधरी डाक्टर समेत भएको बताएका थिए । पानीट्याङकीस्थित बालाजी आयुर्वेद पायल्स क्लिनिकबाट बिर्तामोडमा आएर काम गर्ने चौधरीले प्रयोग गर्ने औषधिहरु घातक रसायनिक पदार्थ रहेको बुझिएको छ । उनले प्रयोग गर्ने ‘औषधी’ पायल्सका लागि प्रयोग गर्न नमिल्ने स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिए ।







प्रतिक्रिया