सम्पादकीय
अमेरिकामा नेपाली विद्यार्थीहरु मानसिक स्वास्थ्य समस्यामा परिरहेको समाचार सार्वजनिक भएका छन् । कतिपय विद्यार्थीहरु उपचारमा छन् भने केही विद्यार्थीहरुलाई नेपाल फर्काइएको छ । संसारभर अहिले मानसिक स्वास्थ्य समस्या चुनौतिपूर्ण बन्दै गइरहेको छ । यसका अनेक कारणहरु मध्ये एउटा अव्यवस्थित जीवनशैली नै हो । नेपालीहरुको दैनिकी दिनप्रतिदिन अव्यवस्थित र तनावपूर्ण बन्दै गएको छ । तीव्र शहरीकरण, आर्थिक चुनौती, वैदेशिक रोजगारी र अध्ययनका कारण देखिएको दबाबले मानिसको जीवनशैलीलाई अस्वस्थ बनाइरहेको छ । कामको बोझ, समयको अभाव र भविष्यको अनिश्चितताले सामान्य मानिसदेखि विद्यार्थीसम्म मानसिक तनावको समस्या देखिन्छ ।
पछिल्लो समय स्थानीय अस्पतालहरुले मानसिक स्वास्थ्यसँग सम्बन्धित डाक्टर राखेर सेवा नै दिनुपर्ने अवस्था बनिरहेको छ । नेपाली समाजमा मात्र होइन, विदेश जाने विद्यार्थी र श्रमिकहरु पनि यसको मारमा परेका छन् । पढाई र काम दुवैलाई सन्तुलनमा राख्नुपर्ने जिम्मेवारीले विद्यार्थीहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । परिवारदेखि टाढा बस्दा आत्मीयताको कमीले उनीहरु झनै एक्लोपना महसुस गर्छन् । मनोपरार्मदाताहरुका अनुसार यसले दीर्घकालीन रुपमा डिप्रेशन, चिन्ता र अन्य मानसिक समस्या निम्त्याउने खतरा बढाउँछ ।
स्वस्थ्य जीवनका लागि व्यवस्थापन अति आवश्यक छ । पर्याप्त निद्रा, पौष्टिक आहार, नियमित व्यायाम र आत्मअनुशासनले मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन सहयोग पु¥याउँछ । साथै, परिवार र साथीभाइसँग नियमित संवाद, सकारात्मक सोच र ध्यान योगजस्ता अभ्यासले पनि मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ । राज्यले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर सचेतना कार्यक्रम, परामर्श केन्द्र र सहज उपचार सेवा उपलब्ध गराउनुपर्छ । यसका लागि स्थानीय सरकारले पनि प्राथमिकता दिन आवश्यक छ । विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्यबारे खुला छलफल र सहयोगी वातावरण बनाउन सकियो भने तनाव व्यवस्थापन सजिलो हुन्छ । र, मानसिक स्वास्थ्य समस्या भोग्न पर्दैन । मानसिक स्वास्थ्यलाई ख्याल गर्नु गाह्रो कुरा होइन । जीवनलाई स्वस्थ र अर्थपूर्ण बनाउने बलियो आधार हो । त्यसैले उमेर समूहका नागरिकले आफुलाई स्वस्थ्य राख्न दैनिक जीवनलाई व्यवस्थित गर्नैपर्छ ।







प्रतिक्रिया