सम्पादकीय

विद्यार्थी संगठन रचनात्मक बन्नुपर्छ

विद्यार्थी संगठन रचनात्मक बन्नुपर्छ


सम्पादकीय
एकबेला थियो, विद्यार्थी संगठनहरुले सडक बन्द गर्ने, टायर बाल्ने र ढुङ्गा हान्ने । त्यो बेला संगठनहरुले गरेका आन्दोलनबाट विद्यार्थी जीवनमा धेरै मागहरु पुरा भए । धेरै मागहरुमध्ये एउटा माग, सार्वजनिक यातायातमा छुट । अहिले पनि विद्यार्थीहरुले परिचय कार्ड देखाएमा छुट पाइन्छ । त्यो विद्यार्थी आन्दोलनको उपज हो । अब, आन्दोलन त्यो प्रकृतिको आवश्यक छैन । विद्यार्थी संगठनहरुको मूल लक्ष्य शैक्षिक वातावरण सुधार र विद्यार्थीको हकहितको संरक्षण हो । पछिल्ला वर्षहरूमा धेरै संगठन राजनीतिक दलहरूको छायामा मात्र सीमित देखिन्छन् । भाषण, विरोधसभा र नारा जुलुसमा बढी सक्रिय भएर विद्यार्थी संगठनले आफ्नो मूल उद्देश्य पुरा गर्न सक्दैन ।

नारा जुलुसमा बढी सक्रिय भएपछि मुख्य मुद्धा ओझेल पारेका छन् । यसले विद्यार्थी संगठनप्रतिको विश्वास घट्दै गएको छ । संगठनलाई वास्तविक अर्थमा सार्थक बनाउन रचनात्मक र सिर्जनशील गतिविधिहरूमा ध्यान दिन जरुरी छ । विद्यार्थीलाई भविष्यको करियरबारे सजग बनाउने, आधुनिक सीप र प्रविधिमा दक्ष गराउने, समाजसेवामुखी गतिविधि सञ्चालन गर्ने काम संगठनको दायित्वभित्र पर्छ । उदाहरणका लागि, झापामा अनेरास्ववियुले हालै आयोजना गरेको करियर काउन्सिलिङ र डिजिटल हाजिरी–जवाफ कार्यक्रमलाई लिन सकिन्छ । यसले संगठनहरुप्रति सकारात्मक बन्न प्रेरित गर्छ ।

रचनात्मक कार्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्छ । त्यति मात्र होइन, संगठनप्रति आकर्षण पनि बढाएर जान्छ । यस्तै खालका क्रियाकलापले विद्यार्थीलाई शैक्षिक यात्रा अझ व्यवस्थित बनाउन मद्दत पु¥याउँछ । संगठनले विद्यालय, कलेज र विश्वविद्यालयहरूमा अध्ययन–अध्यापनलाई सहज बनाउने वातावरण सिर्जना गर्न सघाउनुपर्छ । पार्टीगत राजनीतिको कठपुतली बन्नेभन्दा विद्यार्थीमैत्री र भविष्यमुखी कार्यक्रम अघि सार्नु आजको आवश्यकता हो । विद्यार्थी संगठन रचनात्मक बन्न सके मात्र विद्यार्थीले विश्वास गर्नेछन् र संगठनको अस्तित्व दीर्घकालीन हुनेछ । सबै विद्यार्थी संगठन अब राजनीतिक भन्दा पनि रचनात्मक नेतृत्वको अभ्यास गरेर प्रस्तुत हुन जरुरी छ ।

शेयर गर्नुहोस :

27
Shares