सम्पादकीय
नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा निराशा बढेको छ । भ्रष्टाचार र अनियमिततासँगै ढिलासुस्तीले राज्यको सेवा क्षेत्रसँग नागरिक तीब्र असन्तुष्ट छन् । त्यसै कारण शासन प्रणालीप्रति नागरिकले प्रश्न उठाइरहेको बेलामा युवा पुस्ताले खवरदारीको तयारी गरेको छ । युवा पुस्तामा समेत बढ्दो निराशाले खवरदारीको तयारी भएको स्पष्ट छ । जेनजी पुस्ताले अघि बढाउन सक्ने रचनात्मक आन्दोलनले मुलुकलाई नयाँ दिशा दिन सक्नुपर्छ । जेनजी पुस्ताको आन्दोलन विगतमा दलहरुले गरे जस्तो आन्दोलन हुनुहुदैन । शान्तिपूर्ण र मर्यादित हुनुपर्छ ।
काठमाडौंमा ८ सेप्टेम्बरमा माइतिघरमा प्रदर्शन गरिदैछ । आन्दोलन भनेको सधैं सडकमा झडप, तोडफोड वा हिंसात्मक गतिविधि मात्र हुदैन भन्ने सन्देश जेनसी पुस्ताले दिनुपर्छ । आजको डिजिटल युगमा शान्तिपूर्ण र रचनात्मक खवरदारी गरेर राष्ट्रिय सन्देश दिन सक्नुपर्छ । सामाजिक सञ्जालमा जनचेतना फैलाउने, कला, संगीत, साहित्य र प्रविधिमार्फत भ्रष्टाचारको विरोध गर्ने, तथ्य र प्रमाणसहित दोषीलाई उजागर गर्ने जस्ता कामहरु प्रभावकारी हुनेछन् । समाजमा यस प्रकारका सकारात्मक ऊर्जा जगाउनेछ र नागरिकलाई आक्रोश होइन, समाधानमुखी विचारमा जुटाउने आन्दोलनमा सबैको समर्थन समेत जुट्नेछ ।
नेपालमा जेनसी पुस्ताले सामाजिक सञ्जालका सन्दर्भमा सरकारले गरेको निर्णय र भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दैछ । यो आन्दोलन अति सभ्य र भव्य हुनुपर्छ । भ्रष्टाचारको बिरोधमा सबै पुस्तामा एकताबद्ध हुन पनि जरुरी छ । जेनसीका नाममा हुन सक्ने हिंसात्मक गतिविधिबारे बेलैमा सचेत पनि हुनुपर्छ । टिकटकमा अभियान बारे व्यापक बनाइएको छ । कतिपय तस्वीरहरुमा संसदमा आगजनी समेत गरिएको देखाइएको छ । यसले नकारात्मक सन्देश प्रवाहमा मद्दत गर्छ । भ्रष्टाचार विरुद्धको अभियानमा सबैको समर्थन रहे पनि हिंसा र अराजकतमा समर्थन नहुन सक्छ । कोही कसैबाट पनि परिचालित हुनु हुदैन, त्यसले उपलब्धीभन्दा क्षतिको जोखिम धेरै हुन्छ । हिंसा, आगजनी र तोडफोडले आन्दोलनलाई कमजोर पार्छ र भ्रष्ट तत्वलाई लाभ दिन्छ । त्यसैले रचनात्मक दबाब र शान्तिपूर्ण प्रतिरोध नै प्रभावकारी मार्ग हो । भ्रष्टाचारलाई सहनै नसक्ने संस्कार बनाउन, संस्थागत सुधारमा जोड दिन र पारदर्शिता कायम गर्न जेनसी आन्दोलन सार्थक बनोस् ।







प्रतिक्रिया