सम्पादकीय
जेन जी पुस्ताको आन्दोलनपछि देशभर सुनसान र चकमन्न जस्तै छ । आन्दोलनमा भएका जनधनको क्षतिले सबैलाई स्तब्ध बनाएको छ । त्यस घटनापछि गाउँघर र बजार क्षेत्रमा चोरी, डकैती र आपराधिक गतिविधि बढेको छ । समाजमा असुरक्षा बढ्दा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको छ । असुरक्षाका कारण सामाजिक शान्ति र आपसी विश्वास पनि शंका पैदा गरिरहेको छ । यस्तो अवस्थामा राज्यका सुरक्षा निकायले तत्कालै सबै ठाउँमा उपस्थिति जनाउन सक्दैनन् । यसबीचमा स्थानीय समुदायकै सतर्कता र सक्रियता निकै महत्वपूर्ण हुन्छ ।
गाउँ–घरमा टोल विकास समितिहरू लामो समयदेखि क्रियाशिल रहेका छन् । स्थानीय विकास र आपसी सहकार्यका लागि संस्थाहरु स्थापना गरिएका हुन् । अहिलेको चुनौतीपूर्ण परिस्थितिमा यी संस्थाले आफ्नो औचित्य सावित गर्ने मौका पाएका छन् । टोलस्तरमा सुरक्षा सतर्कता, अनुगमन र आपसी सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्न सके अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने छ । राति पालोपालो ड्युटी बस्ने, अनजान व्यक्तिको गतिविधि निगरानी गर्ने, आकस्मिक अवस्थामा तुरुन्त प्रहरीलाई जानकारी दिने जस्ता काममा टोल विकास समितिहरू सक्रिय हुनुपर्छ ।
बजार क्षेत्रमा पनि व्यापारी संघ–संस्था र स्थानीय टोल संगठनबीच सहकार्य आवश्यक छ । निजी तवरले भएपनि सीसी क्यामेरा जडान गर्ने, सडक वत्तिको व्यवस्थालाई सुधार गर्ने काम गर्न जरुरी छ । समुदाय र सुरक्षा निकायबीचको सहकार्यले अपराध घटाउने नै छ । त्यसका लागि टोलको तर्फबाट अहिले समन्वय गर्नुपर्छ । अपराध नियन्त्रण राज्यको प्रमुख जिम्मेवारी हो । तर आजको परिस्थिति त्यस्तो छैन । नागरिकको सजगता र सामुदायिक ऐक्यबद्धताबाट गाउँ टोल र बजारको सुरक्षा व्यवस्थापन गर्न सकिन्छ । त्यसैले सुरक्षालाई प्राथमिकतामा राख्दै, टोल विकास समिति, व्यापारी संगठन, प्रहरी र प्रशासन सबै मिलेर अघि बढौं । अहिलेको चुनौतीलाई अवसरमा बदल्दै, स्थानीय संस्थाहरूले सक्रिय भूमिका निर्वाह गरौं ।







प्रतिक्रिया