Banner news

समुदायस्तरबाट बन्दैछ इलाका र झापा ट्राफिक

समुदायस्तरबाट बन्दैछ इलाका र झापा ट्राफिक


१० लाख संकलन, २५ लाखभन्दा धेरै घोषणा

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन मर्मतका लागि समुदायस्तरबाट तीब्र गतिमा काम भइरहेको छ ।

जेन जी आन्दोलनमा अराजक समूहले आगजनी र तोडफोड गरेको दुई वटा कार्यालयमा ध्वस्त भएको थियो । दुवै कार्यालय निर्माणको काम धमाधम भइरहेको छ ।

समुदायस्तरबाट दुई कार्यालय मर्मतका लागि पहलकदमी भएपछि स्रोत संकलनमा समेत सहज भइरहेको ढुवानी व्यवसायी पदम श्रेष्ठले जानकारी दिए । अहिले १७० जनाले इलाका र ट्राफिक कार्यालयमा काम गरिरहेका छन् । निर्माणका लागि ६० लाख लागत अनुमान गरेर काम थालेको केही दिनमै सहयोग रकम जुट्न थालेको छ । १० लाख रुपैयाँ संकलन नै भइसकेको छ, श्रेष्ठले भने – करिव २५ लाख रुपैयाँ घोषणा समेत भइसकेको छ । घोषणा गर्नेहरुले धमाधम रकम हस्तान्तरण गरिरहेको जनाइएको छ । घोषणा गर्ने काम पनि जारी रहेको छ ।

बिहीवार झापा गोल्डकपले दुई कार्यालयको मर्मतका लागि १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । कार्यालय निर्माणका लागि बिर्तामोडका व्यवसायी प्रकाश शिवाकोटीले १ लाख १ हजार, न्यूटन एकाडेमी १ लाख, कञ्चनजंगा बोर्डिङ स्कुल १ लाख, स्थानीय अगुवा व्यवसायी राजकुमार पोखरेल १ लाख १ हजार, प्रदीप मित्तल १ लाख १ हजार, एनवाईइएफ झापा च्याप्टर १ लाख, कङगारु एजुकेशन फाउण्डेशन १ लाख ५१ हजार, गोमेन्द्र महाविद्यालय र डा. रुपक खनालको तर्फबाट १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । एक लाखभन्दा मुनी दर्जनौं संघ संस्थाहरुले पनि सहयोग गरिसकेका छन् ।

एकका लागि एक अभियान, सिम्रिक सहकारी, वाणिज्य संघ, क्रसर व्यवसायीसहित दर्जनौ संघ संस्था र व्यवसायीहरुले सहयोगको घोषणा गरेका छन् । कार्यालय पुनस्थापनामा सक्रिय श्रेष्ठका अनुसार दशैं अगावै दुवै कार्यालयबाट सेवा समेत सुरु हुने छ । बसोबासको पूर्ण व्यवस्थापन नभए पनि प्रहरीले सुरक्षाका लागि गस्ती बढाएको छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।

यता, कार्यालय पुननिर्माण तर्फ धेरै प्रगति भइसकेको छ । झ्यालढोका निर्माणको काम ५० प्रतिशत, वाइरिङ ५० प्रतिशत, कलर ४० प्रतिशत, ट्रस वल्डिङ ६० प्रतिशत, प्लम्विङ ९५ प्रतिशत र टाली लगाउने काम ३० प्रतिशत सम्पन्न भइसकेको छ । निर्माणमा स्थानीय युवा, प्रहरी समेतको सहभागिता रहेको छ ।

कार्यालय पुनस्थापनाका लागि लाखौ रुपैयाँका जिन्सि सामग्री समेत उपलब्ध गराइएको छ । ट्राफिक र इप्रका मर्मतका लागि बैंक खाता सञ्चालन गरेर सहयोग रकम संकलन गर्ने काम भएको जनाइएको छ ।

शेयर गर्नुहोस :

918
Shares