Banner news

इलाका बिर्तामोड र जिल्ला ट्राफिकलाई सहयोग जुट्दै

इलाका बिर्तामोड र जिल्ला ट्राफिकलाई सहयोग जुट्दै


झापा । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन पुनर्निर्माणका लागि विभिन्न संघ–संस्था र व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी छ । शुक्रवार विभिन्न संघ संस्था र व्यक्तिहरुले इलाका परिसरमै पुगेर सहयोग रकम र आवश्यक सामग्रीहरु प्रदान गरेका छन् ।

कार्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा एकका लागि एक अभियानले १ सय थान ब्लाङ्केट र ५ लाखको चेक हस्तान्तरण गरेको छ । यस्तै, रोटरी क्लब अफ बिर्तामोडले २ थान कम्प्युटर सेट, समर्पित फाउण्डेशनले २ थान कम्प्युटर र १ थान प्रिन्टर, अर्जुनधारा जलेश्वरधामले नगद ५१ हजार, नेपाल चार्टर एकाउन्टेन्ट संघले नगद ५१ हजार, साम्भावी फुड एण्ड बेभरेज अर्जुनधाराले नगद ५१ हजार र न्यू क्वालिटी कम्प्युटर बिर्तामोडले १ थान प्रिन्टर उपलब्ध गराएको छ ।

व्यवसायी मनोज प्रसाईंले २१ हजार, मारवाडी सेवा समिति लगायतका संस्थाबाट १ लाख, न्युटन्स एजुकेशन एकेडेमी बाल क्लबबाट ११ हजार १ सय ११ रुपैयाँ सहयोग उपलब्ध भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

इलाका र ट्राफिकको कार्यालय पुनर्निर्माणमा बिर्तामोडका सेवा भावनाका व्यक्ति र संघ संस्थाहरुले उल्लेख्य सहयोग गरिरहेका छन् । जेन जी आन्दोलनका क्रममा अराजक समूहले दुवै कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।

बिर्तामोडका व्यवसायी सजेश शिवाकोटीले आगामी दिनमा प्रहरी कार्यालयको संरक्षणमा समुदायकै तर्फबाट सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । स्थानीय समुदायबाट बनेको संरचना संरक्षणमा समुदायकै अग्रसरता हुनुपर्ने उनको धारणा थियो ।

शेयर गर्नुहोस :

216
Shares