Banner news

‘बजार चलायमान नै छ, चिन्ता सुरक्षाको हो’

‘बजार चलायमान नै छ, चिन्ता सुरक्षाको हो’


बिर्तामोड । जेन जी आन्दोलनले दशैंको किनमेललाई धेरै प्रभावित नबनाएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । किनमेल गर्नेहरुमा धेरै उत्साह नदेखिए पनि कारोबारको दरमा ठुलो अन्तर नभएको उनीहरुको प्रतिक्रिया छ ।

बडादशैंमा विशेष सम्पत्ति जोड्ने, गाडि, घर लगायतको क्षेत्रमा असर गरे पनि खाद्यन्न, कपडाको आइटमा ठुलो असर नगरेको व्यवसायीहरुको धारणा छ । बिर्तामोडका माछा व्यवसायी अर्जुन सहनीले व्यापारमा ठुलो असर नपरेको जानकारी दिए । उनले खानपानको सन्दर्भमा विगतकै जस्तो बजारमा चहलपहल भएको बताए ।


घटस्थापनदेखि सुरु भएको बडादशैंको किनमेल आजसम्म पनि राम्रै चहलपहल भइरहेको छ । दशैंका लागि सामान किन्न बिर्तामोडसहित जिल्लाका बजारहरुमा उपभोक्ताहरुको भीडभाड बाक्लै देखिएको छ । दशैंमा हुने चहलपहल विगतमा जस्तो उत्साहजनक नभए पनि यो वर्ष कम पनि छैन ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले बजार चलायमान नै रहेको बताएका छन् । उनका अनुसार बजार चलायमान छ, चिन्ता भनेको सुरक्षा मात्र हो । व्यवसायीहरुलाई व्यापारभन्दा धेरै सुरक्षाको चिन्ता रहेको धारणा व्यक्त गरेका छन् ।

आन्दोलनपछि बजार धेरै नै प्रभावित होला भन्ने चिन्ता थियो । तर, बजार चलायमान नै देखिएको उनको भनाई छ । व्यवसायीहरु निराश नै हुनुपर्ने अवस्था नरहेको अधिकांशको भनाई छ । चाडवाड व्यापारको मुख्य सिजन पनि भएकाले धेरै नै व्यापारको अपेक्षा हुन्छ, खतिवडा भन्छन् – उपभोक्ता पनि मारमा पर्न हुदैन, व्यवसायीहरुले यस तर्फ पनि ख्याल गर्नुपर्छ ।

शेयर गर्नुहोस :

27
Shares