फादर जगत बहादुर वाग्ले
पवित्र परम्परा र पवित्र धर्मशास्त्र भनेको सत्यको जीवित स्रोत र पवित्र चर्चको आत्मिक आधार हो ।
पवित्र परम्परा क्रिस्चियन विश्वासको आधारभूत संरचना हो । जसले पवित्र धर्मशास्त्रलाई धारण गरेर, व्याख्या गर्दै जीवित बनाउँदै सम्पूर्ण विश्वासलाई एकीकृत गर्ने माध्यमको कार्य गर्दछ । यदि पवित्र धर्मशास्त्र ईश्वरीय वचनको लिखित स्वरूप हो भने, पवित्र परम्परा त्यसको जीवित अभिव्यक्ति हो । यी दुई बिच कुनै विरोध छैन, बरु, यी परस्पर अभिन्न, पूरक र एकै स्रोतबाट प्रवाहित सत्यका धाराहरू हुन् ।

इतिहासमा ‘सोल स्क्रिप्चरा’ (धर्मशास्त्र मात्र) भन्ने अवधारणा प्रस्तुत गरियो, जसले धर्मशास्त्रलाई विश्वास र अभ्यासको एकमात्र अन्तिम अधिकार मानेको छ । तर प्रश्न उठ्छ, के प्रभु येसु ख्रिस्टले मानिसहरूको परम्पराको निन्दा गर्नुभएको (मर्कुस ७ः८) सन्दर्भले सम्पूर्ण परम्परालाई अस्वीकार गर्छ ? वा त्यसले भ्रष्ट र मानव–निर्मित परम्परालाई मात्र अस्वीकार गरेको हो ?
पवित्र परम्परा र पवित्र धर्मशास्त्रको ऐतिहासिक द्वन्द्व भनेको, धर्मसुधार आन्दोलनका कतिपय कट्टरपन्थीहरूले पवित्र चर्चका सबै पवित्र परम्परालाई भ्रष्ट र मानव–निर्मित भन्दै अस्वीकार गरे । प्रेरित पावलले पनि चेतावनी दिएका छन्, “कोही मानिसले दर्शन र व्यर्थ छलद्वारा तिमीहरूलाई नफसाओस्” (कलस्सी २ः८)। तर यहाँ सन्त पावलले पवित्र प्रेरितीय परम्पराको होइन, मानव–निर्मित भ्रामक परम्पराको विरोध गरेका हुन् ।
प्रोटेस्टेन्ट परम्पराले धर्मशास्त्रलाई सर्वोच्च माने तापनि, विडम्बना के छ भने। त्यही धर्मशास्त्र स्वयं पवित्र चर्चको परम्पराबाट उत्पन्न भएको हो । पवित्र चर्चबिना धर्मशास्त्रको अस्तित्व सम्भव थिएन । जब पवित्र परम्पराबाट पवित्र धर्मशास्त्रलाई अलग गरियो, तब व्याख्याहरूमा विभाजन आयो र परिणामस्वरूप असंख्य सम्प्रदायहरूको जन्मभयो । त्यो विभाजन पछि, ‘धर्मशास्त्र मात्र’ भन्ने सिद्धान्तले ‘एकता’ होइन,अरु ‘विभाजन’ जन्मायो ।
पवित्र चर्च भनेको सत्यको खामो र आड होः प्रेरित पावलले घोषणा गर्छन्, “पवित्र चर्च नै सत्यको खामो र आड हो” (१ तिमोथी ३ः१५)। यसको अर्थ, पवित्र चर्च भनेको संस्था होइन, यो जीवित र आत्मिक शरीर हो, जसमा पवित्र आत्माको निरन्तर कार्य भइरहेको हुन्छ ।
पवित्र चर्च भनेको ख्रिस्टको देह हो, र यसले पवित्र आत्माद्वारा अनुग्रह सञ्चार गर्दछ । सन्त इरेनियसको यसरी भनेका छन्ः “जहाँ पवित्र चर्च छ, त्यहाँ परमेश्वरका आत्मा हुनुहुन्छ; र जहाँ पवित्र आत्मा हुनुहुन्छ, त्यहाँ पवित्र चर्च र सम्पूर्ण अनुग्रह हुन्छ ।” यसरी, सत्य कुनै स्थिर अक्षरमा सीमित हुदैन । यो पवित्र चर्चमा जीवित अनुभवका रूपमा प्रवाहित हुन्छ ।
पवित्र परम्परा र पवित्र वचन हस्तान्तरण भएको सत्यः “परम्परा” (ग्रीकः पाराडोसिस) को अर्थ हो – “हस्तान्तरण गर्नु”। प्रेरित पावलले भन्छन् ः “मैले जे पाएँ, त्यो तिमीहरूलाई सुम्पिदिएँ” (१ कोरिन्थी १५ः३)।
यो वचनले यहि देखाउँछ कि क्रिस्चियन विश्वास भनेको लिखित पाठ मात्र होइन, तर जीवित अनुभव, शिक्षा र जीवनशैलीको निरन्तर हस्तान्तरण हो । यही कारणले प्रेरितहरूले दिएका शिक्षा मौखिक र लिखित दुवै रूपमा सुरक्षित गरिएका छन् (२ थेसलोनिकी २ः१५) ।
पवित्र परम्परा र मानविय परम्पराको भिन्नतालाई बुझौः ख्रिस्टले निन्दा गर्नुभएको परम्परा (मर्कुस ७ः८) मानव–निर्मित आत्मिक सत्यबाट टाढा लैजाने परम्परा हो । तर पवित्र परम्परा भनेको प्रेरितहरूको शिक्षा र पवित्र आत्माको मार्गदर्शनमा स्थापित सत्य हो (यूहन्ना १६ः१३)। त्यसैले सबै परम्परा अस्वीकार्य छैन बरु सत्य र असत्य परम्पराबीचमा भएको भेदलाई जान्न आवश्यक छ ।
पवित्र धर्मशास्त्र पवित्र परम्पराको अभिव्यक्ति हो, अर्थोडक्स दृष्टिकोणमा पवित्र धर्मशास्त्र पवित्र परम्पराको विरोधी होइन, तर त्यसकै सर्वोच्च लिखित रूप हो । पवित्र धर्मशास्त्र पवित्र चर्चभित्र पवित्र चर्चद्वारा र पवित्र चर्चका लागि लेखिएको हो । येसु ख्रिस्ट धर्मग्रन्थ स्थापना गर्न आउनुभएको होइन, तर पवित्र चर्च स्थापना गर्न आउनुभएको हो । यस बिषयमा सन्त जोन क्रिसोस्टोमले स्पष्ट भनेका छन्, प्रभुले आफ्ना चेलाहरूलाई कुनै पुस्तक दिनुभएन, तर जीवन दिनुभयो ।
यसकारण, पवित्र धर्मशास्त्रलाई अलग अलग रूपमा बुझ्दा भ्रम उत्पन्न हुन्छ, यसलाई पवित्र परम्पराको सन्दर्भभित्र मात्र सही रूपमा बुझ्न सकिन्छ ।
पवित्र चर्च भनेको उद्धारको जीवित स्रोत हो, पवित्र चर्च भनेको शिक्षा दिने स्थान मात्र होइन यो उद्धारको माध्यम हो । प्रेरितहरूको पुस्तकमा लेखिएको छ, “प्रभुले दैनिक रूपमा उद्धार पाउनेहरू थप्नुहुन्थ्यो” (प्रेरित २ः४७) । यसले यो देखाउँछ कि उद्धार व्यक्तिगत व्याख्याबाट होइन पवित्र चर्चको जीवनमा सहभागी भएर मात्र प्राप्त हुन्छ ।
पवित्र धर्मशास्त्रलाई गलत प्रयोग गर्दाको जोखिम, पवित्र धर्मशास्त्रको गलत व्याख्या खतरनाक हुन सक्छ । सैतानले समेत येसुलाई परीक्षा गर्दा धर्मशास्त्र उद्धृत गरेको थियो (मत्ती ४ः५–६)। प्रेरित पत्रुसले चेतावनी दिन्छन्, “धर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन” (२ पत्रुस १ः२०)। यसैले पवित्र धर्मशास्त्रलाई पवित्र चर्चको सामूहिक बुद्धि र परम्पराको प्रकाशमा बुझ्नुपर्छ ।
अन्तमा सत्यको एकीकृत स्रोत हुन् पवित्र परम्परा र पवित्र धर्मशास्त्र दुई अलग अलग स्रोत होइनन्, यी एउटै सत्यका दुई अभिव्यक्ति हुन् । पवित्र परम्परा बिना पवित्र धर्मशास्त्र मृत अक्षर हुन्छन्, र पवित्र धर्मशास्त्र बिना पवित्र परम्परा अस्पष्ट हुन्छ ।
पवित्र चर्चमा यी दुवै मिलेर सत्यको पूर्णता प्रकट गर्छन् । यसैले, क्रिस्चियन विश्वास भनेको पढ्ने कुरा मात्र होइन, यो जिउने कुरा पनि हो, पवित्र परम्परा कुनै बोझ होइन तर उद्धारको ज्योति हो, जसले मानवलाई परमेश्वरसँग मिलाप गराउँछ, र सत्यको मार्गमा स्थिर राख्छ ।







प्रतिक्रिया