Banner news

पुरुष नजरबाट तीजलाई नियाल्दा

पुरुष नजरबाट तीजलाई नियाल्दा


हरि बराल 

हरितालिका तीज आउने बित्तिकै घरमा छुट्टै चहलपहल सुरु हुन्छ । रातो साडी, पोते, छमछमी बज्ने चुरा, अनि रेडियो र टेलिभिजनमा गुञ्जने तीजका गीत, महिलाहरूका लागि यो आफ्नो दु:ख साट्ने, माइती सम्झिने र हितैषीहरुसँग रमाइलो गर्ने पर्व हो । तर घरको एउटा कुनामा बसेर यो सब दृश्य हेरिरहेको ‘छोरा मान्छे’का लागि भने तीजको कथा अलि अर्कै हुन्छ ! तीज आउनुभन्दा महिना दिन अगाडि नै तीजको वातावरण सुरु भइसक्छ । तीजको पूर्वसन्ध्या वा तयारीबाट कथा सुरु हुन्छ…।

तीजको मुख्य दिन आउनु भन्दा हप्ता दिन अगाडिदेखि नै घरका महिलाहरू ‘दर खान’ जाने चटारोमा हुन्छन् । एकातिर कुन पार्टी प्यालेस वा कसको घरमा दर खाने भन्ने योजना बन्छ, अर्कोतिर ‘अघिल्लो पल्ट लगाएको साडी यसपालि नमिल्ने’ गम्भीर समस्या खडा हुन्छ ! छोरा मान्छेको काम भनेको बजारबाट रातो साडी, म्याचिङ पोते, चुरा र (साबिक बमोजिम) दरका लागि खीर, फलफूल, घिउ र मिठाईको आवश्यक सामग्री जोहो गरिदिनु हो ।

अलि अघिसम्म तीज भनेको माइतीको आँगन, आमाको हातको शुद्ध दर र मौलिक भाकामा आफ्ना सुख-दु:ख साट्ने मञ्च थियो । तर, छोरा मान्छेले आजभोलि नियाल्दा तीजको त्यो मौलिक स्वरूपमा अलि भड्किँदो र खर्चिलो रूप पनि मिसिएको देखिन्छ । अहिले तीज आउनु एक महिना अघिदेखि नै रेस्टुरेन्ट र पार्टी प्यालेसहरूमा ‘दर कार्यक्रम’का नाममा तामझाम सुरु हुन्छ । मौलिक गीत-संगीतभन्दा पनि डिजेको ठूलो आवाजमा अलि अस्वाभाविक र झल्को दिने नाचगान, गहना र कपडाको तडकभडक अनि देखासिकीको होडबाजीले तीजलाई अलि खर्चिलो र आडम्बरी बनाएको छ ।

धर्म, संस्कृति र आत्मीयता साट्ने पर्व विस्तारै ‘सो-अफ’ गर्ने माध्यम त बनिरहेको छैन ? भन्ने प्रश्न पनि उब्जिने गरेको छ । यद्यपि, विकृतिलाई हटाएर यसको मौलिक सुगन्ध बचाउन सके मात्र तीजको वास्तविक सौन्दर्य जोगाउन सकिन्छ भन्ने कुरा यो आधुनिक वातावरण नियालिरहेका छोरा मान्छेहरूले महसुस गर्छन् । दर खाने दिन राति १२ बजे उठेर खीर र ढकने वा अन्य परिकार खाँदा छोरा मान्छे भने भोलि त निराहार व्रत बस्नु छ, अलि धेरै खानुस् भन्दै पस्किदिने सहयोगी भूमिकामा सीमित हुन्छन् । मुख्य तीजको दिन घरमा छुट्टै शान्ति र त्रासको वातावरण हुन्छ । बिहानैदेखि आमा, श्रीमती, दिदीबहिनीहरू पानी पनि नपिई व्रत बसेका हुन्छन ।

यस्तो बेला छोरा मान्छेहरू निकै सतर्क हुनुपर्छ । गल्तीले पनि “खाना कहिले बन्छ ?“ वा “चिया बनाई दिनु ?” भनेर भनियो भने रातो साडीमा सजिएकी ‘देवी’को क्रोधको सामना गर्नुपर्ने पनि हुन सक्छ ! त्यसैले त्यस दिन छोरा मान्छेहरू आफैँ भान्सा सम्हाल्न वा बाहिरै काम चलाउन तयार हुन्छन् । साँझपख मन्दिर परिसर वा आँगनमा छमछमी नाचिरहेका महिलाहरू देख्दा लाग्छ — पानी नपिईकन पनि यत्तिको ऊर्जा कहाँबाट आउँछ होला ? सबैभन्दा पहिले आफ्नो स्वास्थ्यको ख्याल गर्नुर्होस् ।

तीजको भोलिपल्ट गणेश चतुर्थी र त्यसको भोलिपल्ट ऋषिपञ्चमी आएपछि मात्र यो महाउत्सवको समापन हुन्छ । पछाडिको दृश्य झनै रोचक हुन्छ । तीजको व्रत र नाचगान सकिएपछि घरमा एक किसिमको मौनता छाउँछ । अघिल्लो दिनसम्म घन्किएको तीजको गीत र चुराको छनछन एकाएक हराउँछ । महिलाहरू थकानले आराम गरिरहेका हुन्छन् । ऋषिपञ्चमीको पूजा र सप्तऋषिको कथा सकिएपछि बल्ल भान्सामा सामान्य दाल-भात पाक्न थाल्छ अनि मात्र तिज सकिएको महसुस हुन्छ ।

छोरा मान्छेले पनि सायद आफ्नो वालेट हेर्छन्, अलि हल्का भएको महसुस गर्लान् तर घरका सदस्यहरूको मुहारमा देखिएको खुसी र उमङ्गले त्यो सब बिर्साइदिन्छ । छोरा मान्छेको नजरबाट हेर्दा तीज भनेको केवल महिलाहरूको व्रत मात्र होइन, यो त घरभरि रातो रङ, खुसी, उमङ्ग प्रेम साथै रमाइलो बोकेर आउने एउटा विशेष उत्सव हो । कुनै नारीले आफ्नो पतिको दीर्घायु र परिवारको कल्याणका लागि पानीसम्म नपिई व्रत बसेको देख्दा, छोरा मान्छेको मनमा उनीहरूप्रति श्रद्धा र प्रेम अझ बढेर आउँछ ।

महिलाहरूको महान् पर्व हरितालिका तीज केवल एक धार्मिक अनुष्ठान मात्र नभई सामाजिक, सांस्कृतिक र पारिवारिक एकताको प्रतीक हो । तर, समयको परिवर्तनसँगै तीज मनाउने शैली, यसको स्वरूप र मर्ममा ठूलो फेरबदल आएको छ । पहिले तीजमा मौलिकता र सादगी हुन्थ्यो । वर्षभरि सासू-बुहारी, दु:ख-सुख र समाजका भोगाइहरूलाई गीतमार्फत पोख्ने माध्यम तीज थियो । तर, अहिले तीज श्रद्धा र भावनाभन्दा पनि तडकभडक, गहना र कपडाको प्रदर्शन गर्ने माध्यम बनेको छ ।

पहिले तीजको अघिल्लो दिन मात्रै आमा, दिदीबहिनी र साथीभाइ भेला भएर घरमै बनेको शुद्ध र सात्त्विक ’दर’ खाने चलन थियो । अहिले तीज आउनुभन्दा दुई-तीन महिना अघिदेखि नै पार्टी प्यालेस र होटलहरूमा महँगा र भड्किला दर कार्यक्रम आयोजना हुने गरेका छन् । पुराना तीजका गीतहरूमा मौलिक भाका, करुणा, चेतना र सांस्कृतिक सुगन्ध हुन्थ्यो । अहिलेका कतिपय गीतहरूमा अश्लीलता, दोहोरो अर्थ लाग्ने शब्द र सस्तो मनोरञ्जनले प्राथमिकता पाएको छ, जसले तीजको मौलिक मर्मलाई ओझेलमा पारेको छ । पहिले तीज टाढा रहेका दिदीबहिनी र माइतीबीचको आत्मीय पुनर्मिलनको अवसर थियो । अहिले सामाजिक सञ्जालमा फोटो र भिडियो पोस्ट गरेर ‘देखाउने’ प्रवृत्ति बढेको छ, जसले वास्तविक आत्मीयतालाई ओझेलमा पारेको छ ।

अबको तीज कस्तो हुनुपर्छ ? तीजलाई आधुनिक बनाउने नाममा यसको मौलिकता मास्नु वा तडकभडक बढाउनु सामाजिक र आर्थिक दुवै दृष्टिले घातक छ । त्यसैले अबको तीजलाई निम्न अनुसार परिमार्जित र मर्यादित बनाउन आवश्यक छ – तीजलाई गहना र महँगा कपडा प्रदर्शन गर्ने प्रतिस्पर्धा बनाउनु हुँदैन । आर्थिक रूपमा विपन्न वर्गलाई नकारात्मक असर नपर्ने गरी सरल र सहज ढङ्गले पर्व मनाउने संस्कृति बसाल्नु पर्छ ।

महिनाँै अघिदेखि पार्टी प्यालेसमा गरिने फजुलखर्ची दर कार्यक्रमलाई रोकेर तीजको अघिल्लो दिन घरमै परिवार र आफन्तसँग बसेर सात्विक र स्वास्थ्यवर्द्धक दर खाने परम्परालाई पुनर्जीवित गर्नुपर्छ । तीजका गीतहरूमा महिला सशक्तिकरण, सामाजिक चेतना, पारिवारिक सद्भाव र मौलिक भाकालाई प्राथमिकता दिनुपर्छ । विकृति फैलाउने गीतहरूलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्छ ।

निराहार व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नु अति आवश्यक छ । धर्म र आस्थाका नाममा शरीरलाई कष्ट दिने वा बिरामी पर्ने गरी कडा व्रत बस्नुभन्दा श्रद्धा र स्वास्थ्य दुवैलाई सन्तुलनमा राख्नु बुद्धिमानी हुन्छ । तीजलाई केवल नाचगानमा सीमित नराखी समाजमा रहेका विकृति, विभेद र चेतना अभिवृद्धिका विषयमा छलफल गर्ने रचनात्मक मञ्चका रूपमा विकास गरिनुपर्छ । तीज हाम्रो पहिचान र परम्परा हो । समयअनुसार यसमा केही व्यावहारिक परिवर्तन आउनु स्वाभाविक भए पनि यसको मूल मर्म, सादगी र पवित्रतालाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो । फजुलखर्ची र तडकभडकलाई त्यागेर आत्मीयता, भ्रातृत्व र सांस्कृतिक चेतनाका साथ तीज मनाउनु नै आजको आवश्यकता हो । तीजको शुभकामना !

शेयर गर्नुहोस :

378
Shares