मुख्य समाचार

बुद्धशान्तिमा विद्यार्थीलाई लोकसेवातर्फ आकर्षित गर्न हाजिरीजवाफ प्रतियोगिता

बुद्धशान्तिमा विद्यार्थीलाई लोकसेवातर्फ आकर्षित गर्न हाजिरीजवाफ प्रतियोगिता


बुधबारे । विद्यार्थीलाई विद्यालय तहदेखि नै प्रतिस्पर्धात्मक परीक्षाका लागि तयार गराउने उद्देश्यले झापाको बुद्धशान्तिमा माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । विद्यार्थीमा सामान्य ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्दै लोकसेवा आयोगलगायतका परीक्षाप्रति रुचि बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बुद्धशान्ति गाउँपालिका–१ को सहकार्यमा बुधबारे जेसीजले प्रतियोगिता आयोजना गर्न लागेको हो । वडा कार्यालयले शिक्षा तथा युवा लक्षित कार्यक्रमका लागि बजेट व्यवस्थापन गरेपछि प्रतियोगिताको आयोजना तथा व्यवस्थापनको जिम्मेवारी जेसीजले लिएको हो ।

प्रतियोगितामा बुद्धशान्ति गाउँपालिकाभित्रका सामुदायिक तथा निजी माध्यमिक विद्यालय सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुने टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने बुधबारे जेसीजका अध्यक्ष कुशल अधिकारीले जानकारी दिनुभयो । जेसीज सप्ताहअन्तर्गत प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो ।

बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी गराएर उनीहरूको क्षमता विकास गर्न कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । स्थानीय संस्था र वडा कार्यालयबीचको सहकार्यले शिक्षा तथा युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

वडा कार्यालयले शिक्षा सुधारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । सामुदायिक विद्यालयमा सिकाइस्तर कमजोर भएका विद्यार्थीलाई लक्षित गरी बिहानको समयमा नौ स्थानमा अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि नौ जना शिक्षक छनोट गरी १०० दिने ‘क्लोज क्याम्प’ सञ्चालन गरिनेछ । कार्यक्रमका लागि वडा कार्यालयले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी वडाभित्रका दुई सामुदायिक विद्यालयमा प्रत्येक महिना कक्षागत उत्कृष्ट विद्यार्थी छनोट गर्ने र अतिरिक्त क्रियाकलापलाई अनिवार्य गरिएको वडा कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares