झापा । अन्तर्राष्ट्रिय झापाली समाजले कनकाई नगरपालिकालाई करिब ३० लाख रुपैयाँ बराबरका दुई थान स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
समाजले कनकाई नगर स्वास्थ्य अस्पतालमा प्रयोग हुने सामसुङ एचएस ४० र बायो रेड डी १० उपकरण हस्तान्तरण गरेको हो । सामसुङ एचएस ४० बाट अल्ट्रासाउण्ड तथा बायो रेड डी १० बाट रगतमा ग्लुकोजलगायत परीक्षण गर्न सकिने जनाइएको छ ।
काठमाडौंस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण आवश्यकताको पहिचान गरी कनकाई नगरपालिकालाई हस्तान्तरण गरिएको समाजले जनाएको छ। उपकरणमा एक वर्षको पूर्ण वारेन्टीसमेत रहेको छ ।

उपकरण अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेल, नेपाल समन्वय समितिका संयोजक राजु थापा र सचिव सुदर्शन रोक्काले नगर प्रमुख राजेन्द्रकुमार पोखरेल तथा वडा नं. ७ का वडाध्यक्ष भीष्मभूषण सिटौलालाई हस्तान्तरण गरेका हुन् ।
उपकरण सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य परीक्षण तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता घट्नुका साथै अस्पतालको सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया