Banner news

बदलिंदो जनसंख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधार : विज्ञ

बदलिंदो जनसंख्यिक संरचना समाजवाद निर्माणको मुख्य आधार : विज्ञ


काठमाडौं – जनसंख्या वनावटमा आएको तिव्र परिवर्तन समाजवादको आधार निर्माणको आधार हुने विज्ञहरुले बताएका छन् । घट्दो जन्मदर,बढ्दो बुढ्यौली, युवा जनसंख्याको बाहुल्यता र घट्दो आश्रित अधिकत्तम उपयोगबाट समाजवादसम्म पुग्ने मार्ग सहज हुने उनीह्रुले बताएका छन् । तरर बढ्दो आन्तरिक र बाह्य बसाँइसराइका कारण युवाहरुको पलायनले श्रमशक्ति अभाव भएर उत्पादनशिल क्षेत्रले अपेक्षा गरेजस्तो आर्थिक उपार्जन गर्न भने चुनँैतिपूर्ण रहेको उनीहरुले औल्याएका छन् ।

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर)को बहस श्रृंखला इन्स्पायरको आइतबारको कार्यक्रममा ‘बसाँइसराइले नेपाली समाजमा ल्याएको संरचनागत परिवर्तन र यसले नेपालमा समाजवाद निर्माणमा पार्ने प्रभाव विष्लेष्ण’ र ‘नेपाली समाजवादी दृष्टिकोणमा बदलिंदो जनसंख्यिक संरचना’ विषयक कार्यपत्र प्रष्तुत गर्दै सहप्राध्यापक विज्ञहरुले युवाको पलायन,देशको घट्दो उत्पादन क्षमता,सामाजिक संरचना र राजनीतिक सहभागितामा गम्भिर असर परेको उल्लेख गरेका छन् ।

‘बसाँइसराइले नेपाली समाजमा ल्याएको संरचनागत परिवर्तन र यसले नेपालमा समाजवाद निर्माणमा पार्ने प्रभाव विष्लेषण’ विषयक कार्यपत्र त्रिवि जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा.पद्धमप्रसाद खतिवडाले बसाँइसराइको बृह्त्तर र बहुआयामिक सम्बन्ध बुझेपछि मात्र समाजवादको आगामी दृष्टिकोण बनाउन सहज हुने बताएका छन् ।

‘समाजावादले रोजगारी,समानता,सामाजिक स्वामित्व र उत्पादनका साधनमा पहुँच सुनिश्चित गर्नुपर्ने हुन्छ । तर नेपालमा कृषि,उद्योग,शिक्षा,स्वास्थ्य र पूर्वाधारमा राज्यको कमजोर भूमिका देखिएको छ’ खतिवडाको कार्यपत्रमा भनिएको छ ‘असमानता,भ्रष्टाचार,सिण्डीकेट,सार्वजनिक सेवाको व्यापारिकरण,वातावरणीय,राजनीतिक र सबै सतहमा नीतिगत सम्बोधन नगरेसम्म समाजवादको आधार निर्माण हुन सक्दैन ।’

खतिवडाले स्वेच्छिक र बाध्यकारी बसाँइसराइका कारण नेपालको जनसंख्यिक सन्तुलन नै खबबलिने अवस्थामा पुगेको उल्लेख गरेका छन् । रोजगारी,सुरक्षित आवास,प्राकृतिक प्रकोप,द्वन्द्व आदि जस्त कारणले नेपालको बसाँइसराइका घुम्तीहरु भएको उनले जनाएका छन् । तत्कालिन माओवादीले शसस्त्र युद्ध सुरु गर्दा २०५२ सालमा नेपालमा श्रम स्विकृति लिने युवाहरुको जनसंख्या ३ हजार २ सय ५९ रहेकोमा युद्धको असरले ठूलोसंख्यामा पलायन भएर विदेश पुगेको उल्लेख गरेका छन् । बैदेशिक रोजगार विभागको तथ्यांक प्रष्तुत गर्दै खतिवडाले युद्धको १० वर्षको अवधीमा ३ हजार २ सय बाट १ लाख ६५ हजार १ सय ३ जना युवाहरुले श्रम स्विकृति लिएको उल्लेख गरेका छन् ।

वि.सं. १८१६ को सुगौली सन्धीसँगै औपचारिक रुपमा नेपालबाट बैदेशिक बसाँइसराइ सुरु भएको खतिवडाले उल्लेख गरेका छन् । बैदेशिक बसाँइसराइमा भारतको हिस्सा क्रमश घट्दै गएको उनले उल्लेख गरेका छन् । ‘२०३८ सालसम्म बैदेशिक रोजगारीको हिस्सा भारतमा ९५ प्रतिशत थियो ४० वर्षपछि २०७८ मा यो हिस्सा घटेर ३७.५ प्रतिशतमा झरेको छ । भारततर्फको हिस्सा घट्नुमा गल्फका देशहरु र मलेसियातर्फ नेपालीहरु आकर्षित भएर हो’ खतिवडाले भनेका छन् ।

उनका अनुसार देशभित्रै पनि कुल जनसंख्याको करिब ३७ प्रतिशत मानिसहरु आफू जन्मेका ठाउँमा बसेका छैनन् । ‘महिलाको बसाँइसराइ विवाहका कारणले भएको देखिए पनि पुरुषहरु रोजगारी,अध्ययन,सहज जीवनयापन खोज्दै पहाडबाट तराई र सहरतिर पस्ने क्रम बढेको हो ’ खतिवडाले भने ‘पहाड र हिमालबाट युवा जनशक्ति अन्यत्र पलायन हुँदा त्यहाँको उत्पादन सम्बन्ध पनि उथलपुथल भएको छ । जसले समाजवादको लक्ष्य प्राप्तीमा कतै न कतै अवरोध खडा गरेको छ ।’

बसाँइसराइले विकासमा मुख्यगरी तीन तरिकाले प्रभाव पारेको खतिवडाले जनाएका छन् । ‘पहिलो समाज,अर्थतन्त्र र विकासमा बसाँइसराइको प्रभाव छ । दोस्रो बसाँइसराइले स्थानीय समुदायमा प्रभाव पारेको छ र तेस्रो व्यक्तिगत रुपमा आप्रवासी र तिनका परिवारलाई प्रभाव पारेको छ’ खतिवडाले उल्लेख गरेका छन् ।

जनसंख्यिक बनौटलाई नीतिगत सम्बोधन भए समाजवादमा पुग्ने मुल बाटो
कार्यक्रममा त्रिभूवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा.डा. योगेन्द्र बहादुर गुरुङले ‘नेपाली समाजवादी दृष्टिकोणमा बदलिंदो जनसंख्यिक संरचना’ विषयक कार्यत्रप पनि पेश गरेका छन् । उनीहरुले नेपालको बदलिंदो जनसंख्यिक संरचनालाई राज्यले सम्बोधन गरेर समाजवादको यात्रा तय गर्नुपर्ने उल्लेख गरेका छन् । प्राचिनकाल देखि हालसम्म जनसंख्यालाई हेर्न दृष्टिकोणमा विविधता भएको उल्लेख गर्दै नेपालले जनसंख्यालाई स्रोतको रुपमा व्याख्या गरेर समृद्ध नेपाल,सुखी नेपालीको यात्रा तय गर्ने माध्यम बनाउनु पर्ने उनीहरुको राय छ ।

विश्वमा नै चर्चित अर्थशास्त्री माल्थसको जनसंख्या सिद्धान्तलाई कार्लमाक्र्सले र एंगेल्सले खण्डन गरेको स्मरण गर्दै कार्यपत्र प्रष्तोताले जनसंख्या धेर वा थोर भन्ने कुरा त्यहाँको समाज,भौगोलिकता र उत्पादन सम्बन्धले मात्र निर्धारण गर्ने उल्लेख गरेका छन् । ‘माक्र्स र एङ्गेल्सले भनेका छन् त्यो मात्र समाजवादी समाज हो जसले समाजमा रहेका विपन्न र असुरक्षित तथा कमजोरको कल्याण र सम्मानको लागि जनसांख्यिक परिवर्तनलाई व्यावस्थापन गर्न सक्तछ ’ कार्यपत्रमा भनिएको छ ‘ पुंजिवादको क्रान्तिकारी परास्तले समाज र प्रकृति वीचको संवन्धलाई रुपान्तरण गर्दछ र सामुहिक उत्पादन प्रणालिले उक्त संवन्धलाई तर्कसंगत व्यावस्थापन गर्ने क्षमता प्रदान गर्दछ । ’

सन् १९९४ सम्म संसारमा नै जनसंख्यालाई केवल संख्याको रुपमा हेरिने गरेकोमा कायरो सम्मेलनपछि मानिसको रुपमा हेरिन थालेको उनीहरुले जनाएका छन् । उनीहरुले जनसंख्यालाई स्रोत,साधन र साध्यसँग तुलना गरेर हेर्नुपर्ने उल्लेख गरेका छन् । नेपालमा भइरहेको तिव्र भौतिक र सामाजिक विकासले जनसंख्यिक संक्रमण भइरहेको उनीहरुले जनाएका छन् । ‘छोटो समयमा नेपालको जनसंख्या प्याराडायिम सिफ्ट भएको छ ’ कार्यपत्रमा भनिएको छ ‘प्रजनन् दरमा गिरावट,मृत्युदरमा सुधार,युवा उमेरको बहुल जनसंख्या,आन्तरिक तथा अन्तराष्ट्रिय बसाँइसराइले जनसंख्याको संरचना बदलिएको छ । समाजवादको आधार निर्माण गर्न जनसंख्यिक सुचकका यी परिवर्तनको सुक्ष्म विष्लेषण जरुरी छ । ’

जनसंख्या वृद्धिदर वार्षिक १ प्रतिशत भन्दा न्यून हुनु,प्रजनन् दर प्रतिस्थापन तह भन्दा तल हुनु,आर्थिकले रुपले सक्रिय जनसंख्या ६५ प्रतिशत हुनु,ज्येष्ठ नागरिकको जनसंख्या १० प्रतिशत भन्दा माथी हुनु,औषत आयु ७१ वर्ष पुग्नु नेपाली जनसंख्याले छोटो समयमा हासिल गरेका महत्वपूर्ण उपलब्धी हुन् । ‘जनसंख्याको यो सुनौलो अवशरलाई राज्यले समाजवादी सडक चौडा बनाउने उपयुक्त अवशरको रुपमा ग्रहण गर्नु पर्दछ ’ गुरुङले भनेका छन् ।

प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालका अनुसार इन्स्पायर डिस्कसनको यो दोस्रो श्रृंखला हो । प्रतिष्ठानले विभिन्न समसामयिक विषयमा यस प्रकारका छलफल सञ्चालन गर्ने गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares