बिर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको वायु सुचकांक अत्यन्तै अस्वस्थ्यकर रहेको मापन गरिएको छ । झापाका मुख्य शहरहरुमध्ये बिर्तामोडको ‘एक्यूआई’ सबैभन्दा धेरै देखिएको छ । आज विहान एसीसी वेदरले बिर्तामोडको हावा गुणस्तर १७९ एक्यूआई मापन गरेको छ । यो अत्यन्तै अस्वथ्यकर हो । हिजो साँझ १२० एक्यूआई देखिएको थियो ।
दमकको हावाको गुणस्तर १५३ एक्यूआई, भद्रपुर ११८, काँकरभिट्टा ११८, शनिश्चरे ११८ एक्यूआई मापन भएको छ । एक्यूआई ०–५० राम्रो मानिन्छ । यसमा वायुको गुणस्तर सन्तोषजनक हुन्छ । स्वास्थ्यमा कुनै जोखिम हुँदैन । ५१ – १०० मध्यम मानिन्छ । वायुको गुणस्तर सामान्यतया स्वीकार्य छ, तर अत्यधिक संवेदनशील व्यक्तिलाई सामान्य असहजता हुन सक्छ ।
१०१ – १५० संवेदनशील समूहका लागि अस्वस्थकर हुनेछ । बालबालिका, ज्येष्ठ नागरिक तथा दम वा मुटुरफोक्सोका बिरामीले बाहिर लामो समय शारीरिक श्रम गर्न हुँदैन ।
१५१ – २०० अस्वस्थकर मानिन्छ । सबैलाई घाँटी खसखसाउने, खोकी लाग्ने देखिन सक्छ । बाहिरको गतिविधि कम गर्ने र बाहिर निस्कँदा मास्क प्रयोग गर्ने । २०१ – ३०० अति अस्वस्थकर मानिन्छ । यो अवस्थामा सबैजना बढी प्रभावित हुन सक्छन् । बाहिर व्यायाम वा श्रम नगर्ने र झ्यालढोका बन्द राख्ने गर्नुपर्छ ।
३०१ एक्यूआई खतरनाक मानिन्छ । यसलाई स्वास्थ्य संकटकालसम्म लिने गरिन्छ । सम्पूर्ण नागरिकमा गम्भीर असर पर्न सक्छ । घरभित्रै सुरक्षित बस्नुपर्ने छ ।
प्रदूषणको यो स्तरले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने बताइएको छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा छन् ।







प्रतिक्रिया