मुख्य समाचार

इलाममा वृद्धा हत्या आरोपित र गाँजा तस्करीका फरार चालक पक्राउ

इलाममा वृद्धा हत्या आरोपित र गाँजा तस्करीका फरार चालक पक्राउ

Screenshot

इलाम । इलाम प्रहरीले ठूलो परिमाणमा गाँजा तस्करी र एक वृद्ध महिलाको शंकास्पद मृत्युका घटनामा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले शुक्रबार पत्रकार सम्मेलन गरी दुवै घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक कुलदीप चन्दले पत्रकार सम्मेलनमार्फत दुवै घटनाको अनुसन्धान र पक्राउसम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।

इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा मृत फेला परेकी ६६ वर्षीया जितमती लिम्बुको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गत असोज २१ गते साँझ जितमती लिम्बु खोल्सीमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको कानमा चोट देखिएको, उनले कानमा लगाएको सुनको माडवारी र प्रयोग गर्ने मोबाइल फोनसमेत हराएको थियो । मृतकको मोबाइलको खोल शव फेला परेको स्थानबाट करिब एक सय मिटर टाढा भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा घटनामा इलाम नगरपालिका–११ निवासी ३२ वर्षीय त्रिभुवन भुजेलको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनापछि भारतको मिरिकमा बस्दै आएका भुजेल तिहार मनाउन लुकिछिपी नेपाल फर्कने क्रममा पक्राउ परेका हुन् । उनलाई गत कात्तिक २० गते राति करिब ११ः४० बजे सूर्योदय नगरपालिका–२ स्थित फाटकको भित्री जंगलको बाटोबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका भुजेलमाथि कात्तिक २० गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै, गत असोज ६ गते साँझ इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा ना ४ ख ८९९६ नम्बरको फुलबडी ट्रकबाट एक हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद भएको थियो ।

प्रहरी चौकी गोलाखर्कबाट खटिएको चेकिङ टोलीले सडकको अवस्थाका कारण ठूला सवारीसाधनलाई केचना कञ्चनजङ्घा सडकखण्डतर्फ डाइभर्ट गरिरहेको अवस्थामा उक्त ट्रकलाई राजदुवालीतर्फ जान रोक्न खोजेको थियो । तर, चालकले प्रहरीको निर्देशन अवज्ञा गर्दै ट्रक अगाडि बढाएपछि प्रहरीले पछ्याएर रोकेको थियो ।

प्रहरीले बाटोको अवस्थाबारे सम्झाउने क्रममा चालक अचानक ट्रकबाट ओर्लिएर इन्जिन चालु अवस्थामै फरार भएका थिए । त्यसपछि ट्रक जाँच गर्दा बडीभित्र फल्स बटम बनाएर त्रिपालले छोपिएको अवस्थामा बोरामा राखिएको गाँजा फेला परेको थियो ।

घटनापछि फरार रहेका धनकुटाको सहिदभूमि गाउँपालिका–६ निवासी २४ वर्षीय ट्रक चालक महेश परियारलाई इलाम र भोजपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गत कात्तिक २३ गते राति भोजपुरको आमचोक गाउँपालिका–८ बाट पक्राउ गरेको हो ।

बरामद गरिएको गाँजा गत असोज २० गते माइजोगमाई गाउँपालिका–४ स्थित माइबेनी खोलामा नष्ट गरिएको थियो । पक्राउ परेका परियारमाथि कात्तिक २३ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu