Banner news

जेनजी आन्दोलन षड्यन्त्र हो : देउवा

जेनजी आन्दोलन षड्यन्त्र हो : देउवा


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘जेनजी’ आन्दोलनका क्रममा आफ्नो पार्टी र नेकपा (एमाले)का नेता तथा उनीहरूका घरलाई योजनाबद्ध रूपमा निसाना बनाइएको आरोप लगाएका छन् । शनिबार (कात्तिक २८) कांग्रेस संस्थापनइतर समूहको ललितपुर लिल्ला अधिवेशनमा उनले जेनजी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र बीपी कोइरालाको पुर्ख्यौली घर समेत जलाइएको बताए ।

“जेनजी आन्दोलनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस बेला मेरो घर जलाइयो, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो र बीपी कोइरालाको पुर्ख्यौली घर समेत जलाइयो,” उनले भने ।

आन्दोलनका क्रममा कांग्रेस र एमालेका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएको उनको भनाइ छ । उनले यसलाई षड्यन्त्रको संज्ञा दिए ।

“अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र कांग्रेसका नेताहरूलाई मात्र छानीछानी निसाना बनाइएको देखियो,” उनले भने, “त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन ।”

देउवाले आफूले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका निम्ति संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेलजीवन बिताएको स्मरण गरे । बीपी कोइरालालगायत प्रजातन्त्रका निम्ति संघर्ष गरेका नेताहरूको योगदान स्मरण गर्न उनले आग्रह गरे । उनले कांग्रेसका निम्ति पसिना बगाएका नेता–कार्यकर्ताका सन्तान अझै पार्टीसँगै रहेका बताए ।

म विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको व्यक्ति हुँ । पटक–पटक जेल जीवन बिताएको छु । वीपी कोईरालाले प्रजातन्त्रका लागि गरेको संघर्ष र जेल जीवनको इतिहास हामीले बिर्सनु हुँदैन ।

“म स्वयं पनि साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको व्यक्ति हुँ । मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण म पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाएको हुँ,” उनले भने, “यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, जनताको विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको त्यागको परिणाम हो ।”

देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको इतिहास बिर्सन नहुने बताए । न्युज एजेन्सी नेपाल

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu