खेल

दोस्रो झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

दोस्रो झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने


बिर्तामोड, कात्तिक २८ । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आठ टोलीको टुङ्गो लागेको छ । प्रतियोगिता यही मंसिर ५ गतेदेखि सञ्चालन हुँदैछ ।

झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका टोली सहभागी हुने भएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बुले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहभागिता जनाउनेछन् ।

त्यस्तै, झापा–११ फुटबल क्लब, भारत नयाँ दिल्लीको एभी फुटबल क्लब, भुटानको थिम्पु राभेन महिला फुटबल क्लब, पोखराको आरएस पोखरा फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबले प्रतिस्पर्धा गर्ने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।

मंसिर १२ गते हुने फाइनल खेलको विजेताले नगद ११ लाख रुपैयाँ, ट्रफी र मेडल तथा उपविजेताले नगद ५ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो । यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रियस्तरको बनाउने अपेक्षा आयोजकले गरेको छ ।
अध्यक्ष थोप्राका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ । खेलका लागि १०० रुपैयाँदेखि ५०० रुपैयाँ टिकट दर राखिएको छ । एक हजार रुपैयाँको भिआइपी टिकट कायम गरिएको छ ।

दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउन मैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी बलियो अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रत्येक खेलमा करिब ७ हजार दर्शक अटाउन सक्नेगरी प्यारापिट निर्माणको व्यवस्था मिलाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu