अध्यक्षमा पारस मैनाली र देवीभक्त श्रेष्ठको चर्चा
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नेतृत्व चयनका लागि दलीय प्रतिष्पर्धा हुने भएको छ । वर्षौदेखी खानेपानीमा राजनीतिक दलहरुबीच गठबन्धन गरेरै नेतृत्व चयन हुँदै आएको थियो । विगतको परिपाटीलाई अन्त्य गर्दै सहमतिबाट खानेपानी उपभोक्ताले नेतृत्व चयन हुनुपर्ने माग राख्दै आएका छन् ।
खानेपानीले आगामी मंसीर १४ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनको तयारीसँगै नेतृत्व चयनमा दलहरुबीच बाक्लो छलफल सुरु भएको छ । लामो समयदेखी नेपाली कांग्रेसले बिर्तामोड उद्योग वाणिज्य संघ र खानेपानीमा बर्चश्व हासिल गर्दै आएको छ । नेपाली कांग्रेसले विगतको वर्चश्वलाई निरन्तरता दिने गरी तयारीमा जुटेको जनाएको छ । खानेपानीको आसन्न निर्वाचनमा दलहरुको दुई वटा गठबन्धन बन्ने लगभग टुंगो लागेको छ ।

वर्तमान कार्यसमितिका सचिव पारस मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ । यद्दपि, औपचारिक घोषणा भएको छैन । यस्तै, उपाध्यक्षमा शैलेन्द्र सिटौलालाई दोहो¥याउने तयारी भएको छ । खानेपानीमा विगतकै विरासत बलियो ठान्दै आएको कांग्रेसले जीत निकाल्नेमा ढुक्क छ । मैनाली उपभोक्ताको हरेक समस्यामा घरघरमा पुगेकै कारण चुनावी परिणाम आफ्नो पक्षमा निकाल्न सकिनेमा कांग्रेस पक्ष विश्वस्त रहेको बुझिएको छ ।
नेपाली कांग्रेस र राप्रपाले एउटा गठबन्धन बनाएका छन् भने नेकपा एमाले, रास्वपा, नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष), श्रम संस्कृति पार्टी र नेकपाले अर्को गठबन्धन बनाएका छन् । कांग्रेस नेतृत्वको गठबन्धनले अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार तयारी गरिसकेका छन् भने राप्रपालाई सचिव दिने सहमति भएको छ ।
यस्तै, अर्को गठबन्धनले देवीभक्त श्रेष्ठलाई उम्मेदवार बनाउने गरी छलफल गरिरहेको छ । श्रेष्ठ होटल हिकोलाका सञ्चालक हुन् । उनी लामो समय नेकपा एमालेसँग नजिक थिए । हाल, एमालेमा नरहेको दावी गर्ने श्रेष्ठले आफ्नो उम्मेदवारी स्वतन्त्र हुने प्रतिक्रिया दिदैं आएका छन् ।
प्राप्त सूचना अनुसार श्रेष्ठ कांग्रेस इतर गठबन्धनको सहयोगमा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । एमाले, रास्वपा लगायतको गठबन्धनले श्रेष्ठलाई सहयोग गर्ने तयारी गरिरहेको छ । एक कार्यकाल कार्यसमितिमा बसेको खानेपानीको उपभोक्ता मात्रै अध्यक्षको उम्मेदवार बन्न पाउने भएपछि एमाले, रास्वपाले श्रेष्ठलाई अघि सारेको हो ।
श्रेष्ठ बिर्तामोड खानेपानीको स्थापनाकालका कार्यसमिति सदस्य हुन् । उनले लगातार तीन कार्यकाल खोपानीको सदस्य भएर काम गरेका छन् । कार्यसमितिमै हुँदा खानेपानी संस्थालाई उपभोक्तामैत्री बनाउन आफूले एक दर्जन योजनाहरु अघि सारेको श्रेष्ठको भनाई छ । उनले एमाले, रास्वपा लगायतका पाँच दलले अध्यक्षका लागि आफूलाई आग्रह गरेको जानकारी दिए । ‘म लामो समयदेखी खानेपानीको संस्थागत सक्रियताभन्दा बाहिर छु, तर विगतको अनुभवका आधारमा साथीहरुले अध्यक्षका लागि तयारी गर्न भन्नुभएको छ, श्रेष्ठले भने – उहाँहरुले दलबाट स्पष्ट रुपमा निर्णय गरेर आउनु भएको खण्डमा मैले अस्वीकार गर्न सक्दिन ।
हालका अध्यक्ष मेघराज बाँस्तोलाले कार्यकाल नदोहो¥याउने भएपछि कांग्रेसले मैनालीलाई अघि बढाएको हो । बाँस्तोला आगामी स्थानीय निर्वाचनमा बिर्तामोड नगरपालिकाको मेयरमा तयारी गरिरहेको बजारमा चर्चा छ । मेयरको तयारी गरेकै कारण खानेपानीमा नदोहो¥याएको हुन सक्ने अनुमान गरिएको छ ।
खानेपानीको कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि निर्वाचन हुने छ । निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर ७ गते उम्मेदवारी दर्ता रहेको छ भने मतदान मंसिर १४ गते तोकिएको छ । उम्मेदवारी दर्ताको समय नजिक आएसँगै दलहरु नेतृत्व हात पार्न कस्सिएका छन् ।
निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता नारायण पौडेल रहेका छन् । सदस्यहरुमा रुद्र भुर्तेल, शेखर ढकाल, खगेन्द्र खरेल लगायतको निर्वाचन समिति छ । मंसिर ६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने छ । १० हजार ८ सय ३३ उपभोक्ता रहेको बिर्तामोड खानेपानीले नर्वौ कार्यकालका लागि नेतृत्व चयन गर्न लागेको हो ।
यसअघिको निर्वाचनमा मेघराज बास्तोलाले अर्का उम्मेदवार देवेन्द्र सिटौलालाई पराजित गरेका थिए । त्यस निर्वाचनमा पनि लोकतान्त्रिक राष्ट्रवादी प्यानल बनाएर कांग्रेस चुनावमा सहभागी भएको थियो । बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले ८७३ मत प्राप्त गरेका थिए ।







प्रतिक्रिया