सम्पादकीय
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा छठ पर्व नजिकिँदै गर्दा झापा जिल्ला प्रशासन कार्यालयले चालेको कदम अत्यन्तै सराहनीय र समयसापेक्ष छ । कानुनले निषेध गरेका प्लास्टिकजन्य फूल तथा अवैध रूपमा आयात गरिने विदेशी फूलको बिक्रीवितरण र प्रयोगमा पूर्ण रोक लगाउन सुरक्षा निकायहरूलाई दिइएको निर्देशनले स्थानीय किसानहरूमा नयाँ उत्साह थपेको छ । यो निर्णय प्रशासनिक ताकेता मात्र नभई स्वदेशी पुष्प व्यवसायी र कृषकहरूको पसिनाको सम्मान र प्रोत्साहन गर्ने दूरदर्शी नीति पनि हो । तिहार, नेपाल सम्वत् र छठ पर्वका अवसरमा घर, कार्यालय तथा सार्वजनिक स्थलहरूलाई सजाउन र धार्मिक अनुष्ठानका लागि सयपत्री, मखमली र गोदावरी जस्ता फूलहरूको माग अत्यधिक हुने गर्दछ ।
विगतका वर्षहरूमा बजारमा सस्ता प्लास्टिकका फूल र गैरकानुनी रूपमा भित्रिएका विदेशी फूलहरूको बाहुल्य हुँदा हाम्रा स्थानीय किसानहरूले उत्पादन गरेका प्राकृतिक फूलहरूले उचित बजार र मूल्य पाउन सकेका थिएनन् । झापामा पछिल्ला वर्षहरूमा परम्परागत पुष्प खेती व्यावसायिक रूपमा फस्टाउँदै गइरहेको सन्दर्भमा स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनु राज्यको दायित्व हो । प्लास्टिकका फूलहरूले एकातिर वातावरण र माटोमा दीर्घकालीन असर पु¥याइरहेका छन् भने अर्कातिर मुलुकको पुँजी बाहिर पठाएर स्वदेशी कृषकको जीविकोपार्जनमाथि प्रत्यक्ष धक्का पु¥याइरहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय फूलको आपूर्ति, भण्डारण र बिक्रीलाई व्यवस्थित बनाउन देखाउनुभएको तत्परताले स्वदेशी उद्यमशीलता र सिर्जनशीलतालाई मजबुत बनाउनेछ ।
स्वदेशी फूलको प्रयोगलाई प्रवद्र्धन गर्नु भनेको स्थानीय अर्थतन्त्रलाई समृद्ध बनाउनु र हाम्रा किसानहरूको जीवनस्तर उकास्नु हो । प्रशासनको यो निर्देशनलाई कडा रूपमा कार्यान्वयन गर्न सीमानाका र बजारमा सुरक्षा निकाय तथा स्थानीय तहले निगरानी बढाउनुपर्छ । साथै, आम नागरिक, व्यवसायी र सरोकारवालाहरूले पनि प्लास्टिकका फूलहरू त्यागेर नेपाली किसानले आफ्नै माटोमा हुर्काएका प्राकृतिक फूलको प्रयोग गर्ने प्रण गर्नुपर्छ । स्थानीय किसानको हितमा चालिएको यो सकारात्मक कदमलाई सार्थक बनाउनु हामी सबैको साझा कर्तव्य हो । किसानको मेहनत र उत्साहलाई सबैले सम्मान गरौं, प्रोत्साहन गरौं ।







प्रतिक्रिया