बिर्तामोड । बिर्तामोडमा लागूऔषध ब्राउन सुगर र नगदसहित एक जना महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर १२ गते साँझ ५ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ५ जिराइँ टोलस्थित बसन्त पवन तिम्सिनाको घरमा कोठा भाडामा बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशीलाई पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका वडा नम्बर १५ ज्यामिरगढी स्थायी घर भएकी राजवंशीलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गर्दा प्लास्टिक बाहेक १८ ग्राम ४८० मिलिग्राम र प्लास्टिकसहित २२ ग्राम २७० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनको कोठा खानतलासी गर्दा लागूऔषध लतपतिएको छुरी १ थान, कैँची १ थान, डिजिटल तराजु १ थान, नगद १३ लाख ३९ हजार रुपैयाँ, सादा मोबाइल १ थान र भिभो स्क्रिन टच मोबाइल १ थान बरामद गरेको छ । बरामद पदार्थ र सामानसहित नियन्त्रणमा लिइएकी राजवंशीमाथि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया